सोनादाका वरिष्ठ संगीतकार, शब्दकार गणेशकुमार घिसिङको निधन

सोनादा (निसं) : वरिष्ठ संगीतकार, शब्दकार गणेशकुमार घिसिङको निधन भएको छ। सोनादाको अप्पर जोनसनहट्टा निवासी वरिष्ठ संगीतकार गणेशकुमार घिसिङको 61 वर्षको उमेरमा आज बिहान 2 बजे आफ्नो निवासस्थानमा निधन भएको छ। तिनले आफुपछि तीन छोराहरू, बुहारीहरू र नाता-नातिनीहरू छोडी गएका छन्। गणेशकुमार घिसिङको शब्द र संगीतमा रहेको सांगीतिक एल्बम ‘यात्रा’ मा रहेको गीत ‘मेरो दिलभरि कति कति’ भन्ने गीतले नेपालमा अवार्ड पनि प्राप्त गरेको थियो। गोर्खाल्याण्ड आन्दोलनको समय सहिदप्रति समर्पित गीत पनि प्रकाशित गरेका थिए। तिनले 86 को गोर्खाल्याण्ड आन्दोलनमा आफ्नै शब्द संगीतमा रहेको सांगीतिक एल्बम ‘आह्वान्’ पनि प्रकाशित गरेका थिए। संगीतकार गणेशकुमार घिसिङले सूचना अनि सांस्कृतिक विभागमा 20 वर्ष कार्य गरेपछि गत वर्ष 2022-मा अवकाशप्राप्त भएका थिए। वरिष्ठ संगीतकार गणेशकुमार घिसिङले आधुनिक गीत-संगीत, लोक संगीत विधा, लोक संस्कृति र लोक गायनको प्रचार-प्रसार र संरक्षणमा मुख्य भूमिका निर्वाह गरेका थिए। तिनले अमरज्योति संघमा रहेर धेरै लोक गीत र लोक नृत्यहरू गर्नमा सहयोग पनि गरेका थिए। यसको साथै आकाशवाणी खरसाङमा पनि तिनले धेरै गीतहरू रेकर्ड गराएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *