सोनादाको इन्द्रेणी फल्स पर्यटकहरूको आकर्षणको प्रमुख केन्द्र रहे तापनि बाटोको अवस्था खराब, गाउँलेहरूद्वारा बाटो मरमतिको माग

सोनादा: दार्जिलिङ पहाड़को प्राकृतिक पर्यटकीय स्थलहरूमध्ये सोनादा क्षेत्रमा पनि प्रशस्तै पर्यटक स्थलहरू छ जसले पर्यटकहरूलाई आकर्षित पार्ने गर्दछ। सोनादा क्षेत्रमा पनि प्रशस्तै ग्रामीण पर्यटन स्थलहरू छन् तर त्यसलाई पर्यटन स्थलको रूपमा विकसित गर्न सकिएको छैन। सोनादा क्षेत्रमा भएको पर्यटकीय स्थलहरूलाई अहिलेसम्म पनि सटीक रूपमा प्रमोशन गर्न नसकिएको तर  यदि यी क्षेत्रहरूमा ग्रामीण पर्यटीय स्थलहरूलाई पर्यटन व्यवसायको रूपमा प्रमोट गर्न सके स्थानीय युवाहरूलाई रोजगारको प्रशस्तै अवसरहरू प्राप्त हुनसक्ने देखिन्छ। सोनादाको ग्रामीण पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउने स्थानहरूमध्ये सोनादाको इन्द्रेणी फ्लस पनि एक प्रमुख हो। इन्द्रेणी फल्सलाई पर्यटकीय क्षेत्रमा प्रमोट गर्न सकिए यो पर्यटकहरूको आकर्षणको केन्द्र विन्दु बन्न सक्ने स्थानीय मानिसहरूको भनाइ रहेको छ। दागोपापको समयमा सुवास घिसिङले यसलाई इन्द्रेणी फल्सको नाम दिएका थिए तर यसलाई सटीक रूपमा प्रमोट गर्न सकिएन। त्यसपछि जीटीएको समयमा पनि यसलाई त्यति प्रमोट गरिएन। जीटीएले सोनादादेखि इन्द्रेणी फल्ससम्म जाने रोड निर्माण गरे तापनि सो रोड पूर्ण भएन।


यहाँसम्म पुग्ने पुल निर्माण नगरिएकोले फल्ससम्म पुग्ने रोड पनि बनिएन। गत अक्टोबर महिनामा अचानक परेको पानीले इन्द्रेणी फल्ससम्म पुग्ने पुल भत्किएको छ अनि स्थानीय मानिसहरू र पर्यटकहरू आफ्नै रिक्समा यहाँ घुम्न गइरहेका छन्। यहाँ आउने पर्यटकहरूले झेल्न परिरहेको समस्यारूले गर्दा स्थानीय मानिसहरूले इन्द्रेणी फल्ससम्म पुग्ने रोड र पुल झट्टै निर्माण गरिदिने सरकार समक्ष माग गरेका छन्। स्थानीयहरूको पक्षमा विशाल मुखियाले पत्रकारहरूसित कुराकानी गर्दै इन्द्रेणी फल्स पुग्न 3 किलोमीटरको दूरी रहेको छ भने यहाँ दैनिक पर्यटकहरू 10-12 गाड़ी आउने गर्छन् तर बाटोको खराब अवस्थाले पैदल जानु पर्ने बाध्यता रहेको छ। पुल नभएकोले कतिजना पर्यटकहरू टाढ़ैबाट हेरेर फर्किने गर्दछन्। तिनले यहाँ चलिरहेको मरमति कार्य पनि विगत 6-7 महिनादेखि बन्द रहेको छ भने काम गुणस्तरीय नभएको बताएका छन्। तिनले सोनादाको यो पर्यटकीय स्थल इन्द्रेणी फल्स जाने बाटोको मरमति गरिए अनि पुल पनि बनिए पर्यटकहरूको लागि धेरै राम्रो हुने बताएका छन्। त्यसैले स्थानीय सरकार तथा सम्बन्धित विभागले यहाँ झट्टै काम थालेर मरमति कार्य गरिए असल हुने साथै स्थानीय बेरोजगारहरूको लागि पनि रोजगारको अवसर खोलिनेछ। यसलाई पर्यटकीय क्षेत्रको रूपमा विकसित गर्न सकिए खुबै राम्रो हुने तिनले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *