सोनादा: सोनादादेखि केही मुनि नाली चउरमा गत 25 फरवरीदेखि सम्पन्न भइरहेको शिव महापुराणको आज समापन गरियो। नाली चउर उत्थान समितिको आयोजनामा सम्पन्न उक्त शिव महापुराणको पहिलो दिन नाली चउर क्षेत्रमा कलश यात्रा निकालिएको थियो। कलश यात्राको साथमा शुरू गरिएको उक्त शिव महापुराणमा प्रत्येक दिन पण्डित दुर्गाप्रसाद भण्डारीले शिव महापुराणको प्रवचन दिए भने आज शिवरात्रीको दिन शिव महापुराणको समापन गरिएको नाली चउर उत्थान समितिका सभापति लभकुमार तामाङले जानकारी दिएका छन्। उक्त शिव महापुराणमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैलाई आयोजक समितिको पक्षबाट तिनले आभार प्रकट गरे। विश्व शान्ति र गाउँ शान्तिको लागि शिव महापुराणको आयोजना गरिएको तिनले बताए। आज शिव महापुराणको समापनको दिन शिवरात्री परेकोले स्थानीय शिव भक्तहरूको निक्कै बेसी भीड़ रहेको थियो भने सबैले श्रद्धा भक्तिको साथमा भगवान शिवको पुजा अर्चना गरेको देखियो।
