सोनादा : सोनादाको सौगात क्याटरिङको पहलमा दार्जिलिङ जिल्ला अन्तर्गत सुके खण्डको पुलुङदुङ नजिक ‘छेउ‘ गाउँ निवासी डिम्पल खवास र तिनको परिवारलाई सहयोग पुऱ्याएको छ। आफ्नो लोग्नेको निधनपछि दुईजना छोरीहरु हुर्काइ रहेकी डिम्पल खवास कम सुन्छन् र कम बोल्छन् भने तिनका दुईजना छोरीहरू हाल पढ़दैछन्। दुई छोरी र परिवारको हेरचाह लगायत पढाई पनि आफ्नो बगानको श्रमिक काममाथि नै निर्भर रहेको छ। यस्तो अवस्थामा सोनादाको सौगात क्याटरिनको पहलमा सिक्किम दार्जिलिङ युवा एकता मञ्चद्वारा डिम्पल खवासको परिवारलाई सहयोग गरिएको छ। यस अवसरमा सौगात क्याटरिनले पुलुङदुङस्थित तिनको घरमै पुगेर आवश्यक खाद्यन्न सामाग्रीहरू लगायत ब्ल्याङ्केट र अन्य आवश्यक सहयोग पुऱ्याएको छ।

यसको साथै सौगत क्याटरिनले सिक्किम दार्जिलिङ युवा एकता मञ्चको सहयोगमा डिम्पल खवासकी छोरीहरू प्रतिक्षा खवास र प्रियङ्का खवासलाई एक वर्षको लागि युनिफर्म र पढ़ने खर्च प्रदान गरेको छ। त्यसरी नै सौगात क्याटरिनको पक्षमा प्रतिक्षा र प्रियङ्कालाई सम्मानसहित खदार्पण गरेर प्रशस्ती पत्रहरू प्रदान गरेर सम्मान जनाए। सोनादाको सौगात क्याटरिनका युवाहरूले आफुले कमाएको पैसाबाट यसरी लगातार रुपमा सामाजिक कार्यहरू गरिरहेका छन्। पुलुङदुङ निवासी डिम्पल खवासलाई सहयोग गरिएको विषयमा सौगात क्याटरिन सोनादाका छिरिङ शेर्पाले पत्रकारहरूसित कुराकानी गर्दै सौगात क्याटरिनको पहलमा सिक्किम दार्जिलिङ युवा एकता मञ्च ईज्राइलद्वारा डिम्पल खवासको परिवारलाई सहयोग गरिएको बताएका छन्। स्मरण रहोस, यो भन्दा अघि पनि सौगात क्याटरिनको तर्फबाट सोनादाको मुण्डा बस्तीमा एकजना गरीबको घर निर्माण गरिदिइसकेको छ।
