सोनादामा विजयी पञ्चायत सदस्यहरूलाई धन्यवाद कार्यक्रम, 45 परिवार भाजपामा सामेल

सोनादा (निसं): सोनादाको जोनसन हट्टामा भाजपाको बुथ सशक्तीकरण अनि विजयी प्रार्थीहरुलाई धन्यवाद कार्यक्रममा शुक्रबार 45 परिवारले भाजपालाई समर्थन जनाए। उक्त सभामा दार्जिलिङ जिल्ला अध्यक्ष कल्याण देवान, पेम्बा रिम्पोर्छे, महासचिव सुजेन्द्र राई, युवा मोर्चा जिल्ला अध्यक्ष निरज राई, सोनादा मण्डल समिति अध्यक्ष राम प्रधान, मण्डल समिति सदस्यहरु लगायत पञ्चायत समितिमा निर्वाचित सदस्या डोमा शेर्पा, वार्डमा निर्वाचित सदस्या छिमी शेर्पा, धिरेन गुरूङ लगायत धेरै संख्यामा गाउँवासीहरु उपस्थित थिए। सभामा सर्वप्रथम नव निर्वाचित पञ्चायत सदस्यहरुलाई बधाई दिँदै माल्यार्पण गरियो। यस अवसरमा भाजपामाथि आस्था राखेर सोनादा क्षेत्रका 45 परिवारले भाजपा-लाई स्वेच्छाले समर्थन जनाए पछि तिनीहरूलाई भाजपा जिल्ला अध्यक्ष कल्याण देवान, महासचिव सुजेन्द्र राई, निरज राई, राम प्रधान आदिले खदा लगाइ दिएर पार्टीको झण्डा प्रदान गर्दै स्वागत जनाए।


सभालाई कल्याण देवान,पेम्बा रिम्पोर्छे अनि सुजेन्द्र राई आदिले सम्बोधन गरे। यस अवसरमा पार्टी जिल्ला अध्यक्ष देवानले आफ्नो वक्तव्यमा भने, हामी गोर्खा जातिको राजनैतिक उपलब्धि हेतु नै भाजपामा काम गरिरहेका छौं। हाम्रो मुद्दा दिने ठाउँ नै केन्द्रीय सरकार र संसद हो। हाम्रा साथी-भाईहरु बंगालसित मितेरी गाँसेर जातिको सुरक्षाको कुरा गर्छन्। सहिद दिवस मनाउँछन् तर बंगाल हाम्रो जाति र पार्टीको हिमायती पटक्कै होइन। तिनले अझ भने, हामी भाजपाले गोर्खा जातिको राजनैतिक अधिकारको कुरा गर्दा बंगालले हामीलाई शत्रु ठान्छन्। यसैले, बंगालमा गणतन्त्र छैन। पञ्चायत चुनाउमा पनि राज्य सरकारले गणतन्त्रको हत्या गरेको छ। जनतामाथि हत्या र हिंसा चलाएको छ। जबसम्म टीएमसी सरकार बंगालमा रहन्छ बंगाल कहिले शान्त रहने छैन। यसैकारण बंगालमा जनताको रक्षा हेतु अविलम्ब राष्ट्रपति शासन लागू गरियोस् भन्ने हामी चाहन्छौ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *