एसएसबीलाई पराजित गरेर युकेएफसी सुकना गोल्डकपको फाइनलमा

सिलगढी : उतार-चढाउको रोमाञ्चक म्याच पछि खेलाइएको टाई ब्रेकरमा एसएसबी रानीडांगालाई पराजित गरेर युकेएफसी खरसाङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। सुकना गेम्स एन्ड स्पोर्ट्स एसोसिएसनको तत्वावधानमा आयोजना भइरहेको यस फुटबल गोल्ड कप टुर्नामेन्ट अन्तर्गत आज बुधबार सुकना खेल मैदानमा खेलिएको पहिलो सेमिफाइनल म्याचको निर्धारित समयमा दुवै टोलीले 3-3 गोल गरेर बराबरी भएपछि खेलको छिनाफाना गर्नको लागि ट्राईब्रेकर खेलाइयो, जसमा युकेएफसीले 5-4 गोलले एसएसबी रानीडांगा टोलीलाई पराजित गऱ्यो। ट्राईब्रेकरमा युकेएफसी-का फुर्तिलो गोलकिप्परले पहिलो पेनल्टी शट् खुबै राम्रो ढङ्गमा सेभ गर्नको साथै टोलीलाई फाइनलमा प्रवेश गराए। अर्कोतिर, आजको खुबै रोमाञ्चक उतार-चढ़ाउले भरिपूर्ण रहेको पहिलो सेमिफाइनल म्याचमा दुवै टोलीले शुरूदेखि नै अति आक्रमक खेल खेल्दै एकपछि अर्को गरेर दुवै गोलपोस्टमा निर्धारित समयसम्म 3-3 गोल छिऱ्याए।


यसको साथै गुल्चे खेल्ने एसएसबी रानीडांगाका बिकाश कुमार यादव(जर्सी नम्बर 17) अनि युकेएफसीका सिद्दान्त छेत्री(जर्सी नम्बर 9)-लाई पहिलो हाफको अन्तिम समयमा रेफरीले रोतो कार्ड देखाएर मैदानबाट बाहिर गरिदिए पछि दुवै टोलीका मात्र 10-10 जना खेलाड़ीहरूमाझ अन्तिम समयसम्म फाइनल म्याचमा प्रवेश गर्नको लागि लगातार प्रतिस्पर्धा जारी रह्यो। आजको खेलमा विजयी टोली युकेएफसी-का गोलकिप्पर राजा वर्मनलाई म्यान अफ् द म्याच चयन गरियो भने खेलका प्रमुख अतिथि बिनोद राईको बाहुलीबाट तिनलाई आकर्षक ट्रफी प्रदान गरियो। आजको खेलमा अन्य अतिथिहरू क्रमैले चिराग तिवारी, दावा लामा, दिलिप लामा आदि उपस्थित थिए। यसै प्रतियोगिता अन्तर्गत भोली बिहिबार दोस्रो सेमिफाइनल म्याच गान्तोक सिटी एफसी बनाम केएफसी सिलगढ़ीमाझ हुनेछ। स्मरण रहोस, पन्ध्रौँ सुकना गोल्डकप प्रतियोगितामा यसपल्ट मोठ 20 वटा नामी-दामी टोलीहरूले अंश ग्रहण गरेको थियो भने यस प्रतियोगिताको आगामी 9 फरवरीमा हुने फाइनल खेलको विजयी टोलीलाई नगद 2 लाखसहित गोल्डकप ट्रफी अनि पराजित टोलीलाई नगद 1 लाखसहित आकर्षक ट्रफी प्रदान गरिने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *