सुरज धड्कनले दार्जिलिङ आसनबाट निर्दलीय प्रार्थीको रूपमा चुनाउ लड्ने

दार्जिलिङ : दार्जिलिङको चुङथुङ चियाबारीका युवा साहित्यकार सुरज धड्कन (गुरूङ) पनि आउँदो विधानसभा चुनाउमा दार्जिलिङ निर्वाचन क्षेत्रबाट निर्दलीय उम्मेद्वारको रूपमा खडा हुने भएका छन्। तिनले यसबारेमा एउटा विज्ञप्ति जारी गरेर जानकारी गराउँदै आगामी 25 मार्च 2021-को दिन आफ्नो नामाङ्कन पत्र भर्ने बताएका छन्। साहित्यकार सुरज धड्कनले उपन्यास तथा कथा सङ्ग्रहहरू लेखेर प्रकाशित गरिसकेका छन् भने साहित्य अकादमी युवा पुरस्कारले समेत तिनी सम्मानित भइसकेका छन्। सुरज गुरूङलाई बिमल गुरूङको नजिकको मानिन्छ। सोशल मीडियाहरूतिर समेत बिमल गुरूङ विषयलाई लिएर तिनले वकालत गरेको देखिएको छ। तिनले पहाडका सम्पूर्ण स्वाभिमानी शिक्षित जमात र वर्षभरि पसीना बगाएर पनि सुखको अनुभूति कहिले गर्न नसकेका चिया श्रमिकहरूको पक्षमा चुनाउ लड्ने जारी विज्ञप्तिमा जनाएका छन्। तिनले अझ यसो भनेका छन्, म कुनै नेता होइन र नेता हुनको लागि करसत गरेको पनि होइन। जब आफ्नो जाति र समाजको भविष्य सम्झन्छु, शिक्षित युवाहरूको पलायनवृत्ति सम्झन्छु र चिया श्रमिकहरूको चर्को परिश्रम सम्झन्छु तब मन कुडिएर आउँछ। तिनले अबको राजनीतिदेखि शिक्षित तथा सचेत युवाहरू टाढिनु नहुने साथै युवाहरूले राजनीतिमा आफ्नो उपस्थिति दिन सकेन भने बाँच्नु र मर्नुबीच कुनै पार्थक्य रहनेछैन समेत भनेका छन्। बिमल गुरूङ विस्थापित हुँदाको समयमा सुरज धड्कनले तिनको वकालत गर्दै सोशल मीडियामा विभिन्न लेखहरू प्रकाशित गरेको अनि गुरूङ पहाड फर्केर आएपछि कतिपय ठाउँहरूमा सुरज धड्कन एकैसाथमा देखापरेकोले गर्दा सम्भवतः यसपल्टको दार्जिलिङ विधानसभा चुनाउमा मत विभाजन गरेर आफ्नो पार्टीको उम्मेद्वारलाई फाइदा पुर्‍याउने उद्देश्य लिएर तिनलाई स्वतन्त्र उम्मेद्वारको रूपमा बिमल खेमाले नै चुनाउमा खडा गर्ने राजनीतिक चाल रहेको हुनसक्ने केही राजनीतिक जानकारहरू बताउँछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *