स्वास्थ्य साथी कार्डको माध्यमद्वारा रोगी स्वस्थ भएपछि गौतम देवलाई दिए धन्यवाद

सिलगढी : स्वास्थ्य साथी कार्डको माध्यमद्वारा उपचार गर्न पाएकोमा रोगीको परिवारका सदस्यहरूले राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी र सिलगढी नगरनिगमका प्रशासक गौतम देवलाई धन्यवाद जनाए। जलपाईगढी जिल्लाको बिन्नागढी निवासी मोहम्मद आलम हक (35) गत केही वर्षदेखि स्पाइनल कडको जटिल रोगले ग्रसित थिए भने आर्थिक अवस्था कमजोर रहेकोले तिनको उपचार गर्न परिवारका सदस्यहरू असमर्थ थिए। विभिन्न ठाउँमा रोगीको उपचारको सहयोगको अपील गरे तापनि कुनै फाइदा नभएपछि परिवारका सदस्यहरूले अन्ततः सिलगढी नगरनिगमका प्रशासक गौतम देवसमक्ष सहयोगको गुहार लगाए। यसपछि गौतम देवको सहयोगमा स्वास्थ्य साथी कार्डको माध्यमद्वारा कलकत्ताको एउटा गैर सरकारी अस्पतालमा मोहम्मदको चिकित्सा शुरू गरियो। त्यहाँ तिनको अपरेसन गरेपछि हाल तिनी स्वस्थ छन्। रोगीका स्वास्नी नुसरेहा बेगम आज सिलगढी नगरनिगम पुगेर प्रशासक गौतम देव र मुख्यमन्त्री ममता ब्यानर्जीलाई धन्यवाद दिए। अर्कोतिर, स्वास्थ्य साथी कार्डको माध्यमद्वारा रोगीको उपचार गर्न पाएकोमा गौतम देवले खुसी व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *