स्वास्थ्य साथी कार्ड मार्फत् कोरोना संक्रमितहरूको उपचार गर्नुपर्नेबारे सिलगढीको नर्सिङ होमलाई रञ्जन सरकारको चेताउनी

सिलगढी : सिलगढीको नर्सिङ होमहरूमा स्वास्थ्य साथी कार्ड स्वीकार नगरेको साथै सरकारले नर्सिङ होमहरूमा स्वास्थ्य साथी कार्ड सम्बन्धी बोर्ड लगाउने निर्देश दिए तापनि सो कहीँ कतै लगाइएको छैन। यसबारे जानकारी पाएपछि आज सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्य रञ्जन सरकार प्रधान नगरस्थित मेडिका नर्थ बंगाल क्लिनिक नाम गरेको एउटा नर्सिङ होममा पुगे। उक्त नर्सिङ होममा प्रवेश अवधि तिनले स्वास्थ्य साथी कार्ड सम्बन्धी जानकारी भएको कुनै पनि बोर्ड लगाएको नदेखेपछि नर्सिङ होमका अधिकारीहरूसित यसबारे कुराकानी गर्दा उक्त नर्सिङ होमले हालसम्म स्वास्थ्य साथी कार्ड परिसेवा शुरू नगरेको थाहा पाए। यसपछि तिनले नर्सिङ होम प्रबन्धनलाई मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यका सबै नर्सिङ होमहरूलाई स्वास्थ्य साथी कार्ड मार्फत् कोरोना संक्रमितहरूको उपचार गराउने सम्बन्धी जारी गरेको निर्देशबारे नर्सिङ होम कर्तृपक्षलाई अवगत गराउँदै अबदेखि स्वास्थ्य साथी कार्डको माध्यमद्वारा कोरोना संक्रमितहरूको उपचार शुरू गर्ने निर्देश दिए। अर्कोतिर, केही समस्याहरूले गर्दा स्वास्थ्य साथी कार्डको परिसेवा शुरू नगरिएको नर्सिङ होम प्रबन्धन पक्षले जानकारी दिँदै अब चाँडै उक्त परिसेवा शुरू गर्ने बताए। स्मरण रहोस्, गत केही दिनदेखि सिलगढीको विभिन्न नर्सिङ होमहरूले कोरोना संक्रमितहरूको उपचारको नाममा लाखौँ रुपियाँ बिल लिइने गरेको अभियोग उठिरहेको छ। यी आरोपहरूको जाँच गर्नको लागि सिलगढी नगरनिगमको प्रशासक मण्डलीका सदस्यहरू हाल सिलगढीको विभिन्न नर्सिङ होमहरूमा गएर छानबीन गरिरहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *