स्वतन्त्र चुनाउको पक्षधर रहेकोले जीटीए अहिले सरकारी नियुक्त व्यक्तिले चलाओस् : अनित थापा

सिलगढी : चुनाउ आयोग कमिशनले विधानसभा चुनाउ अवधिसम्मको लागि आफूलाई जीटीए चेयरम्यानको पदबाट हटाएकोबारे हाल चारैतिर हो-हल्ला भइरहे तापनि हालसम्म जीटीएले यसबारे कुनै आदेश नपाएको जीटीए चेयरम्यान अनित थापाले बताएका छन्। तथापि, आफू स्वतन्त्र तथा निष्पक्ष चुनाउको पक्षमा रहेकोले गर्दा नै चुनाउ सम्मको लागि चेयरम्यानको पदभार नसम्हालेको जानकारी दिँदै आउँदो चुनाउमा पहाडको तीनैवटा आसनमा आफ्नो दलले विजय हासिल गर्नेबारे आश्वस्त रहेको तिनले बताए। यसको साथै चुनाउको समयमा आफ्नो पदको दुरूपयोग गरेर मतदाताहरूलाई आकर्षित गर्योक भन्ने विपक्षीहरूले टीका-टिप्पणी गर्न नपाओस् भन्ने आफ्नो सोँच रहेको तिनले बताएका छन्। चुनाउ आयोग कमिशनले बङ्गालका सबै राजनीतिक तौरमा चयन गरेका प्रशासनिक अधिकारीहरू, म्युनिसिपल कर्पोरेसनका बोर्ड प्रमुखहरूलाई समेत तिनीहरूको पदबाट चुनाउ अवधिको निम्ति हटाइएको छ भने जीटीए-लाई पनि यस नियमबाट अलग नगराइयोस् भन्ने आफ्नो चाहना रहेको अनित थापाको भनाइ रहेको छ। यसको साथै तिनले चुनाउ आयोग कमिशनलाई जीटीए चेयरम्यानको पदमा चुनाउ आचार संहिता लागू भइञ्जेलसम्म मई महिनाको दोसो सातासम्मको लागि कुनै सरकारी व्यक्ति नियुक्ति गरिदिओस् भन्ने अपील गरेका छन्। यदि सरकारी व्यक्ति उक्त जीटीएको चेयरम्यान पदमा नियुक्ति गरिए आफ्नो पार्टीका उम्मेद्वारहरूको पक्षमा आफूले त्यस समय निर्धक्क चुनाउ प्रचार गर्नसक्ने छु भनी तिनले बताएका छन्। तिनले यसपल्टको चुनाउ स्वतन्त्र अनि निष्पक्ष हुनेछ भन्ने कुरामा विश्वास व्यक्त गर्दै आफू चौकी अनि पदको लोभ नरहेको तर नयाँ सोँच र नयाँ विचार-लाई मन पराएर आत्मसात गर्दै आफ्नो पार्टीका प्रार्थीहरूलाई मतदान गर्न चाहने व्यक्तिहरू समक्ष आफू जान चाहेको अनित थापाले बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *