स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित महिला फुटबल टुर्नामेन्टमा एसएस गर्ल्स सिविटार विजयी

खरसाङ: खरसाङको टुङस्थित गैरी गाउँ सिङसा भोटिया युथ क्लबको आयोजनामा 75औँ स्वतन्त्रता दिवस साथै एक दिवसीय महिला फुटबल टुर्नामेन्ट सम्पन्न भयो। गैरी गाउँ टुङको खेल मैदानमा सम्पन्न उक्त स्वतन्त्रता दिवस समारोहमा मुख्य अतिथि आशिष गुरुङको बाहुलीबाट राष्ट्रिय झण्डा उत्तोलन गरियो। यस अवसरमा स्व. छबि गुरुङ स्मृति महिला फुटबल टुर्नामेन्टको पनि आयोजना गरियो। विभिन्न सांस्कृतिक कार्यक्रमहरूबीच सम्पन्न महिला फुटबल टुर्नामेन्टमा मोठ 8 वटा दलले सहभागिता जनाएका थिए भने एसएस गर्ल्स सिविटार र खरसाङ पाइनर टोली फाइनलमा प्रवेश गरेका थिए। दुवै दलले सेमिफाइनलमा आ-आफ्नो प्रतिद्वन्दिलाई जितेर फाइनलमा प्रवेश गरेका थिए भने सिविटारले टुङलाई 11-0 को अन्तरले जितेर फाइनलमा प्रवेश गर्यो। यसैगरी, खरसाङले सेमिफाइनलमा 3-1 को अन्तरले जितेर फाइनलमा प्रवेश गर्यो। सिविटार र खरसाङमाझ भएको फाइनल खेलमा पहिलो हाफमा गोल शून्य रहे तापनि दोस्रो हाफमा सिविटारको पक्षमा सबनम राई र रोजी प्रधानले एक एक गोल गरी फाइनल खेल 2-0 गोलको अन्तरले जितेर उपाधि हात पारेका छन्। यस खेलमा सर्वाधिक गोलदाताको अवार्ड सिविटारका रोजी प्रधानलाई प्रदान गरियो जसले खेलभरिमा 6 गोल गरेकी थिइन्। यसैगरी टुर्नामेन्टभरिमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी सिविटारकै शबनम राई चयन भएका थिए भने बेस्ट गोल किपरको अवार्ड खरसाङका गोल किपरले प्राप्त गरिन्। त्यसरी नै उत्कृष्ट टोलीको अवार्ड मालुटारले प्राप्त गर्यो। आजको स्वतन्त्रता दिवस समारोह र महिला फुटबल टुर्नामेन्ट विषयमा सिङ्सा भोटिया युथ क्लबको उप सभापति वाङगेल भोटियाले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रूपमा जानकारी गराए। उक्त कार्यक्रममा मुख्य अतिथिको रूपमा आशिष गुरुङ, अतिथिहरूमा गैरी गाउँ सिङसा भोटिया समाजका सभापति थोबा भोटिया, नालम भोटिया, दिलराम पुलिस आउट पोस्टका एएसआई लगायत अन्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *