सिस्टमको कुरा गर्नेहरूले नै सिस्टमलाई पन्साएर काम गर्दा चिया श्रमिकहरूले दु:ख पाएको हो : जोइन्ट फोरम

दार्जिलिङ (निसं): सिस्टमको कुरा गर्नेहरूले सिस्टमलाई पन्साएर काम गर्ने हुँदा नै दार्जिलिङको रम्बुक सिर्डर, पान्दाम, रागेरूङ,आलुबारी चिया बगानका श्रमिकहरूले दुख पाएको हो भन्ने श्रमिक नेता डीके गुरूङले मनतब्य पोखेका छन्। हिल जोइन्ट फोरमका नेतृत्वहरूको आज भेटवार्ता भएपछि श्रमिक नेता डीके गुरूङले पत्रकारहरूसँग कुराकानी गर्दै भने, गत 8 दिसम्बर जीटीए मुख्यालय दार्जिलिङको लालकोठीमा रम्बुक सिर्डर, रागेरूङ, पान्दाम, आलुबारी चिया बगानलाई लिएर एउटा बैठक डाकेको थियो अनि उक्त बैठकमा जीटीएको आफ्नै श्रम विभाग हुँदा हुँदै पनि श्रम विभागको अधिकारी समेतलाई नबोलाइ सत्ता पक्षको श्रमिक संगठनका नेतृत्वहरू अनि श्री नारायणी कम्पनीको अधिकारीहरूमाझ बसेर यी चारवटा चिया बगानमाथि सम्झौता गरेको थियो। तथापि जोइन्ट फोरमले बैठकलाई गैरकानूनी ठहऱ्याउँदै बैठकमा अंश ग्रहण गरेन। उक्त जीटीए मुख्यालय लाल कोठीमा भएको सम्झौतालाई राज्यको श्रम विभागले उचित नरहेको बताएको थियो अनि 12 दिसम्बरको दिन दार्जिलिङको अतिरिक्त श्रम आयुक्त कार्यालयमा श्रम विभागले बैठक बोलाए तापनि जोइन्ट फोरमका नेतृत्वहरू उपस्थित भए तापनि जीटीए सत्ता पक्षको श्रमिक संगठन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनका नेतृत्वहरूले लाल कोठीमा तिनीहरूले गरेको सम्झौतालाई सही ठहराउँदै जोइन्ट फोरमको नेतृत्वहरू विरूद्ध अपशब्दको प्रयोग समेत गरेको डीके गुरूङले बताए। तिनले घटनाबारे अझ भने, चिया बगान कुनै पनि योग्य कम्पनीले लिन सक्छ तर त्रिपक्षीय वार्ता तथा सम्झौताको अनुरूप लिइने कार्य भए श्रमिकहरूले दुख पाउँदैनन् भन्ने जोइन्ट फोरमको अडान थियो तर जोइन्ट फोरमको सुझाउ र सल्लाहलाई अनदेखा गर्ने हुँदा नै आज चिया श्रमिकहरूले दु:ख पाइरहेका छन्। पहाडको यी चारवटा चिया बगानमा कार्यरत् श्रमिकहरूले गत केही सप्ताह अनि महिनादेखि रोजी र वेतन नपाउँदा सत्ता पक्षको श्रमिक संगठन दार्जिलिङ तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनले राज्यको श्रममन्त्री मलय घटकलाई गत 26 जनवरीको दिन पत्राचार गरेर बगान बन्द रहेको बताउँदै हस्तक्षेपको मांग गरेको तिनले बताए। अर्कोतिर, बगान बन्द नरहेर बगानमा प्रबन्धक, कार्यलयमा कार्यरत कर्मचारी साथै श्रमिकहरूले काम गर्दै आइरहेको छन् भन्ने विषयलाई अवगत गराउँदै जोइन्ट फोरमको तर्फबाट गत 5 फरवरीको दिन राज्यको श्रम मन्त्री मलय घटकलाई पत्राचार गरिसकेको डीके गुरूङले पत्रकारहरूलाई बताए। सत्ता पक्षको श्रमिक संगठनका नेतृत्वहरूले श्रमिकहरूलाई भ्रममा पारेर आफुहरूले गरेको गल्तीलाई आज जोइन्ट फोरमको थाप्लोमा हाल्ने काम गरेको तिनले आरोप लगाएका छन्। चिया बगानका श्रमिकहरूलाई सत्ता पक्षको श्रमिक संगठनको भ्रममा नपर्ने अनि सत्य के हो भन्ने विषयको खोजी गर्ने जोइन्ट फोरमको पक्षमा डीके गुरूङले आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *