टिस्टा नदीबाट अज्ञात युवतीको शव उद्धार

जलपाईगढी : टिस्टा नदीबाट अज्ञात युवतीको शव उद्धार भएको छ। उक्त घटना जलपाईगढी सदर ब्लक अन्तर्गत पर्ने कादोबाड़ीको मदारगञ्ज गाउँमा घटेको हो। स्थानीय सूत्रअनुसार आज केही युवकहरू नाउमा सवार भएर टिस्टा नदीमा माछा मारिरहेको समय एकजना युवतीले टिस्टा नदीमा हाम फालिन्। यसपछि तिनलाई बचाउनको लागि स्थानीय मानिसहरू नाउमा चढेर नदीमा खोजी गरे तापनि हाल नदीको वेग अधिक तीव्र भएको कारण तिनको कुनै पत्तो लागेन। उक्त युवती घटनास्थलबाट लगभग पाँच सौ मीटर टाढासम्म नदीले बगाएर लैजाँदै गरेको देखे तापनि अनेकौँ प्रयासपछि पनि तिनलाई उद्धार गर्न नसकेको स्थानीय मानिसहरूले बताए। घटनाबारे पुलिसलाई खबर दिएपछि जलपाईगढी कोतवाली पुलिस घटनास्थलमा पुगेर युवतीलाई नदीबाट उद्धार गरे तापनि तिनको मृत्यु भइसकेको थियो। उक्त युवती हालसम्म चिन्हित नभएको साथै पुलिसले युवतीको शव पोस्टमार्टमको लागि पठाएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *