टिस्टा भेल्लीका दीपेस तामाङ सिलगढीको सालबारीबाट निखोज, परिवार चिन्तित

सिलगढी : टिस्टा भेल्ली मुन्सी गाउँ निवासी धनकुमार तामाङका छोरा 36 वर्षीय दीपेस तामाङ सिलगढीको सालबारीबाट गत केही दिन अघि निखोज भएपछि खोजी गर्दा पनि हालसम्म नभेट्टाइएको तिनको परिवार पक्षले जनाएको छ। प्राप्त जानकारी अनुसार गत 7 अगस्तको दिन सिलगढीको सालबारीस्थित तिनका बहिनीको घरबाट टिस्टाभेल्ली फर्कन्छु भनेर निस्किए तापनि दीपेस हालसम्म घरमा नपुगेपछि तिनका परिवारका सदस्यहरू लगायत आफन्त, इष्टमित्र तथा गाउँलेहरू खुबै चिन्तित बन्न पुगेका छन्। पञ्चायत समिति सदस्य मेन्डुप तामाङ अनि पञ्चायत सदस्य साजन दर्नालको विशेष सहयोगमा परिवार लगायत गाउँलेहरूले आजसम्म पनि विभिन्न ठाउँहरूमा तिनको खोजी गरिरहेका छन्। निखोज भएको बारे हराएका दीपेस तामाङका बहिनीले सुकुना पुलिस आउटपोस्टमा प्राथमिकी दर्ता गरे तापनि हालसम्म तिनको कुनै पत्तो नलागेकोले गर्दा यदि कसैले तिनलाई देखे अथवा भेट्टाएको खण्डमा नजिकैको पुलिस थानामा सम्पर्क गरेर जानकारी दिने निवेदन गरेका छन्। सालबारीबाट हराएको समय दीपेस तामाङले जिन्स पेन्ट तथा स्काई ब्लु सर्ट लगाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *