टिस्टा भेल्लीमा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा मन घिसिङले गरे माटो अनि भूमि पुजा

टिस्टा भेल्ली (निसं): गोर्खा राष्ट्रिय मुक्ति मोर्चा संस्थापक अध्यक्ष सुबास घिसिङले आजको दिन अर्थात 22 सेम्टेम्बर 1985 को दिन समस्त गोर्खा जातिको उन्मुक्तिको निम्ति टिस्टा भेल्ली सजनी डाँडामा पुजा आर्चना गरेपछि गोर्खाल्याण्ड आन्दोलनको शंखघोष गरेर गोर्खाल्याण्ड राज्य प्राप्तिको निम्ति बृहत जनाअन्दोलनको शुरूवात गरेका थिए। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले यस दिनलाई गोर्खाल्याण्ड जनजागरण दिवसको रूपमा प्रत्येक वर्ष पालन गर्दै आइरहेको छ। यसैक्रममा आज गोर्खा जातिको उन्मुक्ति तथा दीर्घ दिनदेखि गोर्खाहरूले देखेको सपना पूरा होस् भन्दै गोरामुमोद्वारा गोर्खाल्याण्ड जनजागरण दिवसको अवसरमा माटो अनि भूमिको पुजा गरियो। कार्यक्रममा प्रमुख अतिथि गोरामुमो अध्यक्ष मन घिसिङले आज टिस्टा भेल्ली सजनी डाँडा देवी मन्दिरमा पुजा आर्चना गरेर गोर्खा जातिको मुद्दा चाँडै फत्ते होस् भन्ने कामना गरेका छन्। यस अवसरमा गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामाले टिस्टा भेल्ली सजनी डाँडामा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, सुबास घिसिङ अनि तपाईं हाम्रो सपना पूरा गर्न हामी लागी परेका छौं। निरन्तर गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जाति र माटोको उन्मुक्तको निम्ति कार्य गर्दै आइरहेको छ। अवश्य नै हामी लक्ष्यमा पुग्नेछौं र यसको निम्ति तपाईं हामी पार्टीभन्दा माथि उठेर कार्य गर्नपर्छ।


तिनले पत्रकारहरुले सोधिएको प्रश्नको उत्तर दिँदै भने, हामीलाई लोकसभाको चुनाउ बारे केही भन्नु छैन तर चुनाउ अघि नै गोर्खा जातिले न्याय पाएको हुन पर्छ । यसको निम्ति अध्यक्ष मन घिसिङले निरन्तर कार्य गरिरहेका छन् साथै पार्टीका सम्पूर्ण नेतृत्ववर्ग पनि दिल्लीमुखी कार्यमा ब्यस्त छन्। लोकसभा चुनाउ अघिनै हामीले न्याय पाएको हुन पर्छ। तिनले एनडीए-को बैठकमा गोरामुमो अध्यक्ष मन घिसिङलाई निम्तो आउनु भनेको समस्त गोर्खा जातिको निम्ति एउटा गर्वको कुरा हो भन्दै यस बैठकमा घिसिङले सहभागिता जनाएका थिए, यो एउटा राम्रो शुभ संकेत पनि हो भनी बताए। चुनाउमा के हुन्छ कसो हुन्छ त्यो हामीलाई केही सरोकार छैन तर हामीलाई केवल गोर्खाजातिको मुद्दा फत्ते हुनुपर्छ र पार्टी यस कुरामा केन्द्रित रहेको वाई लामाले बताए। आजको जनजागरण दिवस कार्यक्रममा गोरामुमो दार्जिलिङ ब्राञ्च कमिटीका अध्यक्ष एमजे सुब्बा, उपाध्यक्ष दिनेस छेत्री, तकदाह टिस्टा भेल्ली समष्टिका अध्यक्ष सुदेश राई, गोरामुमो केन्द्रीय समितिका सदस्यगण लगायत दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिकका गोरामुमो कार्यकर्ताहरुको व्यापक उपस्थिति रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *