ठाकुरनगर रेलगेटमाथि फ्लाईओभर ब्रिज बनाउनुपर्ने मागमा डाबग्राम 2 अञ्चल तृणमूल कङ्ग्रेस कमिटीद्वारा धरना

सिलगढी : डाबग्राम 2 अञ्चल अन्तर्गत ठाकुरनगरको रेलगेटमाथि फ्लाईओभर ब्रिज बनाउनुपर्ने माग गर्दै आज तृणमूल कङ्ग्रेसका कार्यकर्ता तथा समर्थकहरूले धरना प्रदर्शन गरे। प्राप्त जानकारी अनुसार धेरै समय अघिदेखि उक्त बाटो भएर आवत-जावत गर्न मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। प्रत्येक दिन रेलगेटमा घण्टौँ प्रतीक्षा गर्न पर्दछ। स्कुल बस, एम्बुलेन्स लगायत आपतकालीन परिसेवाका वाहनहरू त्यहाँ फँस्दा मानिसहरूलाई निक्कै असुविधा भइरहेको छ। साधारण मानिसहरूको उक्त समस्यालाई ध्यानमा राखेर डाबग्राम 2 तृणमूल कङ्ग्रेसको तर्फबाट त्यहाँ फ्लाईओभर ब्रिज बनाउनुपर्ने माग गर्दै रेलवेका उच्च अधिकारीहरूलाई लिखित रूपमा अवगत गराए तापनि कुनै पहल गरेको छैन। यसैले आज बाध्य भएर तिनीहरू धरनामा बसेका छन्। यसको साथै प्रदर्शनकारीहरूले रेलवे विभागलाई एक महिनाको समय दिएको छ। यस अवधि यदि कुनै पहल नगरेको खण्डमा आगामी दिनमा राज्यका नेतृत्वहरूको निर्देश अनुसार रेल रोको आन्दोलन गर्ने तृणमूलका नेता तथा कार्यकर्ताहरूले चेताउनी दिएका छन्। यस अवसरमा जलपाईगढी जिल्ला परिषदका अधिकारी देवाशीष प्रमाणिक, डाबग्राम 2 अञ्चल प्रधान तथा ब्लक सभापति सुधा सिंह च्याटर्जीले भने, प्रत्येक दिन घण्टौँसम्म मानिसहरू ठाकुरनगर रेलगेटमा फँस्ने गर्दछन्। सिलगढी तथा यसको छेउछाउका 5 वटा जिल्लासित उक्त सडक जोडिएको छ। यसले गर्दा पर्यटकहरू पनि दिग्दारीको सिकार बन्ने गर्दछन्। आगामी दिनमा यदि रेलवेको तर्फबाट कुनै पदक्षेप ग्रहण नगरेको खण्डमा डाबग्राम 2 तृणमूल कङ्ग्रेस कमिटीले वृहत आन्दोलन गर्ने द्वयले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *