तीनधारे-महानदी समष्टि स्तरीय गायन प्रतियोगिताको अडिसन शुरू

खरसाङ : तीनधारे-महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजनको अडिसन आजदेखि शुरु भएको छ। खरसाङ महकुमा अन्तर्गत तीनधारे- महानदी समष्टीको सिमरिङबाट उक्त अडिशन राउण्ड शुरु गरिएको छ। कला अनि सांगीतिक क्षेत्रमा लुकेर बसेका प्रतिभाहरूलाई प्रोत्साहन गर्न र मञ्च प्रदान गर्ने उद्देश्यले राखिएको स्वर-लहर प्रतिभाको खोज प्रतियोगिता दोस्रो सिजनको प्रथम अडिसन आज सिमरिङ्ग सार्वजनिक भवनमा गरियो। उक्त कार्यक्रममा सिमरिङ्ग, मालुटार, नरबुङ्ग लगायत डाकबोङ्लोका ओझेलमा परेर बसेका कलाकारहरुले सहभागिता जनाए। पहिलो अडिशनमा आज 15 जना प्रतियोगिहरुले भाग लिएका थिए भने तीमध्ये 10 जनालाई दोस्रो राउण्डको लागि निर्णायक संगीतकारद्वय राजु सुन्दास र महेश्वर लामाले चयन गरे। युवराज सुन्दासले सञ्चालन गरेको प्रतियोगिता कार्यक्रमलाई सिमरिङको वरिष्ठ नागरिक डीबी सुब्बाले रिबन काटेर उदघाटन गरेका थिए। यस प्रतियोगिताको फाइनलमा विजेतालाई नगद राशि 70 हजार, दोस्रो विजेतालाई नगद राशि 50 हजार अनि तेस्रो हुनेलाई 20 हजार प्रदान गर्ने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *