तीनधारेदेखि गिद्ध पहाडसम्मका विभिन्न ट्याक्सी गाडी सेन्डिकेटका चालकहरूलाई लिएर तीनधारेमा सभा

खरसाङ (निसं): रोहिणी रोड भएर पहाडमा चल्ने स्टेट बसहरू सबै मेन रोड अर्थात् एनएच 55 भएर चलाउने भनिएकोले तीनधारेदेखि गिद्ध पहाडसम्मका ट्याक्सी गाडी सेन्डिकेटका चालकहरूले विरोध जनाएका छन्। रोहिणी भएर पहाडमा चल्ने स्टेट बसहरूलाई अझै थपेर सरकारले चलाउने भनिए तापनि तराई चालक संगठनले रोहिणी रोड भएर बसहरू नचलाई दिने बरू सबै स्टेट बसहरू एनएच 55 अन्तर्गत तीनधारे क्षेत्र भएर चलाइदिने माग गरेपछि तीनधारेदेखि गिद्ध पहाडसम्मका विभिन्न ट्याक्सी गाडी सेन्डिकेटका चालकहरूले आज तीनधारेमा सभा बसेर विरोध जनाएका छन्। उक्त विषयलाई लिएर तीनधारेदेखि सिलगढी र तीनधारेदेखि खरसाङसम्म चल्ने ट्याक्सी गाडी सेन्डिकेट, तीनधारेदेखि खरसाङसम्म चल्ने मारूती भ्यान सेन्डिकेट, घैयाबारीदेखि खरसाङसम्म चल्ने सेन्डिकेट, तीनधारेदेखि घैयाबारी, महानदीदेखि खरसाङ र गिद्धेदेखि खरसाङसम्म चल्ने मारूती भ्यान सेन्डिकेटहरू लगायत बस चालकहरूको संगठन पार्वत्य बस कर्मचारी युनियनका चालकहरू एकै मञ्चमा आएर सभा गरेर हाइवे क्षेत्रबाट स्टेट बस सेवा सञ्चालनको विरोध जनाएका छन्।


सबै सेन्डिकेटका चालकहरू भेला भएर तीनधारेको महात्मा गाँधी हलमा तीनधारे ट्याक्सी अनर्स अनि चालक एसोसिएशनका सभापति कुमार भुजेलको अध्यक्षतामा एउटा सभा सम्पन्न भयो। उक्त सभालाई निर्भर लोहारले सञ्चालन गरेका थिए। उक्त सभालाई तीनधारे ट्याक्सी ओनर्स अनि चालक एसोसिएशनका सभापति कुमार भुजेल, सचिव सुमन लोहार, महानदी सेन्डिकेटबाट सचिन त्रिखत्री, घैयाबारी सेन्डिकेटबाट सञ्जीव रसाईली, गिद्धे सेन्डिकेटबाट सागर रसाईली, बस युनियनबाट राजु सेञ्चुरी र अनुप परियार, तीनधारे खरसाङ मारुती भ्यान सेन्डिकेटका उप सभापति धिरेन प्रधान र अशोक सुब्बाले सम्बोधन गरे। सबै वक्ताहरूले एनएच 55 अन्तर्गत तीनधारे, घैयाबारी, महानदी क्षेत्रबाट स्टेट बसहरू चलाएको खण्डमा यहाँको विभिन्न सेन्डिकेटका चालकहरू र अहिले कुद्दै गरेको चारवटा बसहरूलाई पनि मर्का पर्ने साथै 500-600 सय चालकहरू लगायत तिनका परिवारहरू पनि मर्का पर्ने भन्दै हाइवेबाट स्टेट बसहरू चलाउने विषयमा विरोध जनाएका छन्। यस विषयमा सबै सेन्डिकेटका चालकहरूलाई लिएर को-अर्डिनेशन कमिटी गठन गरेर यस विषयमा महकुमा शासक, जिल्लापाल, जीटीए चिफ्, सांसद, विधायक, स्टेट बस कमिटीका पदाधिकारी शान्ता छेत्री सबैलाई लिखित रूपमा ज्ञापन पत्र बुझाउने निर्णय गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *