तीनधारेदेखि सिविटार जाने खोलामा स्टिल ब्रिजको निर्माण कार्य शुरु

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़कमा रहेको खोलामा पुल निर्माण कार्य शुरु भएको छ। लगभग 3 करोड़ 48 लाख रुपियाँको लागतमा उक्त सड़कमा स्टिल ब्रीज निर्माणको लागि कार्य थालिएको छ। तीनधारेदेखि सिविटार तितिरी खेल मैदानसम्म पुग्ने लगभग 5.50 किलोमीटरको सड़क सन् 2009 देखि नै निर्माण कार्य थालिएको थियो भने धेरै वर्ष अघिदेखि नै सड़क पूर्ण रुपमा निर्माण भएर सुचारु रहेको छ तर बाघमारा बस्ती नजिक शिव खोलामा गाड़ी कुद्न सक्ने पुल नभएको कारणले स्थानीयहरूलाई धेरै असुविधा भइरहेको थियो। खोलामा पुल नभएकोले बर्खाको समय दुई तीन महिना गाड़ी कुदाउन नसक्ने भएपछि स्थानीसहरूले धेरै समस्या झेल्दै आएका थिए। तर अहिले उक्त सड़कमा रहेको खोलामा गाड़ीहरू कुदाउन सक्ने स्टिल ब्रिजको निर्माण कार्य शुरु गरिएको छ। वर्तमान जीटीए चेयरम्यान अनित थापाले उक्त स्टिल ब्रिज निर्माणको लागि गत 24 फरवरी 2020 को दिन नै शिलान्यास गरेका थिए। शिलान्यासपछि काम पनि थालिएको थियो तर मार्च महिनादेखि लक डाउनको कारणले काम ठप्प बनेको थियो। तर अब पुन: उक्त सड़कको निर्माण कार्य शुरु गरिएको छ।


जीटीए चेयरम्यान अनित थापाले सिविटार क्षेत्रको भ्रमण गरेपछि स्थानीयहरूको सुविधाको लागि स्टिल ब्रिजको निर्माण गरिदिने वचन दिएका थिए अनि उनले 24 फरवरीमा यो ब्रिजको निर्माण कार्य शुरु गर्नलाई शिलान्यास गरेका थिए। यसरी सिविटार र बाघमारा बस्तीका स्थानीयहरूको सुविधाको लागि ब्रिजको निर्माण कार्य शुरु भएपछि स्थानीय गाउँलेहरूले खुशी व्यक्त गरेका छन्। गाउँलेहरूले खोलामा पुन नहुँदा धेरै असुविधा भएको र अब पुल निर्माण कार्य शुरु गरिएको कारणले अत्यन्तै खुशी भएको र यसको लागि जीटीए चेयरम्यान अनित थापालाई धन्यवाद दिएका छन्। गोजमुमो बिनयपन्थी तीनधारे महानदी समष्टीको सदस्य एंव सिविटार बुथ नम्बर 258 को कार्यकारी सभापति कुसाङ लामाले तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़क सन् 2009 मै निर्माण गरिएको थियो तर खेलामा पुल थिएन तर सन् 2017 पछि जीटीए चेयरम्यान अनित थापाले नयाँ सोच र नयाँ विचार आएपछि सिविटार क्षेत्रको भ्रमण गरेपछि पुल निर्माणको लागि वचन दिएका थिए र अहिले निर्माण कार्य शुरु भएको छ। त्यसैले सिविटार र बाघमारा बस्तीको सम्पूर्ण जनताको पक्षमा जीटीए चेयरम्यान अनित थापालाई धन्यवाद दिन्छौं भनी बताएका छन्। उनले यो पुलको निर्माण कार्य 3 करोड़ 48 लाखमा सीपीक्यु विभागबाट भईरहेको र यसको निर्माण दार्जीलिङको सुदेश रायमाझीले कार्य गरिरहेको र यो कार्य लगभग छ महिनामा पूरा हुन सक्ने पनि बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *