खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेदेखि सिविटारसम्म पुग्ने रोडको अवस्था हाल निक्कै खराब बनेको छ। सड़कको खराब अवस्थाले गर्दा अहिले सिविटार चियाबारीका थुप्रै गाउँका मानिसहरूले धेरै असुविधाको सामना गर्न परिरहेको छ। तीनधारेको गोलाई पाखादेखि सिविटारको तितिरी खेल मैदानसम्म पुगेको सड़क हाल सोचनीय अवस्थामा पुगेको छ। प्रधानमन्त्री ग्राम सड़क परियोजना अन्तर्गत बनिएको साँढ़े 5 किलोमीटरसम्मको सड़क अहिले गाड़ी कुदाउन नसक्ने स्थितिमा पुगेको छ। तीनधारेदेखि सिविटारसम्म पुग्ने सड़कको मरमति नगरिएकोले गर्दा बाटोको अवस्था सोचनीय बन्न पुगेको छ भने चालकहरूले आफ्नो ज्यान जोखिममा पारेर उक्त सडक भएर वाहन कुदाई रहेका छन्। सड़कको खराब अवस्थाले गर्दा गाड़ी गाउँसम्म नपुग्दा मानिसहरू हिँड़ेर नै तल पुगेर गाड़ी चढ़नु पर्ने बाध्यता रहेको छ भने स्थानीयहरूले धेरै समस्याहरूको सामना गर्नु परिरहेको छ। विशेष गरी सिविटार तितिरी खेल मैदानसम्म पुग्नलाई शिवखोला गाउँमा सड़क यत्ति बेसी बिग्रिएको छ कि ससाना गाड़ीहरू जान सकेको छैन भने ठूला गाड़ीहरू जबरजस्ती कुदाउनु पर्ने बाध्यता रहेको छ।
यसको साथै उक्त सडक भएर बाइक र स्कुटीहरू कुदाउनलाई ठेल्न पर्ने स्थिति रहेको छ। त्यसरी नै तीनधारे पुग्न अघि बन्दुके उकालोमा सड़क धेरै बेसी बिग्रिएको अवस्थामा रहेको छ। गाड़ीहरू कुदाउन असुविधा भएकोले चालकहरू आफैले मिलेर मरमत्ति पनि गरेका थिए। उक्त सडक भएर वाहन कुदाउने चालक कुमार तामाङले पत्रकारहरूसित कुराकानी गर्दै भने, बाटोको खराब अवस्थाले गर्दा स्थानीय, विद्यार्थी लगायत बिमारीहरूलाई धेरै असुविधा भइरहेको छ भने रोडको खराब अवस्थाको कारण मानिसहरू पैदल हिँड़नु पर्ने बाध्यता रहेको बताए। सिविटारदेखि तीनधारेसम्मको सड़क खराब अवस्थामा पुगेको र हाल खोला जस्तै बनेकोले गाड़ी कुदाउनु कठिनाई परिरहेकोले झट्टै यो सड़कको मरमति गरिए स्थानीयहरू सबैलाई सुविधा हुने तिनले बताए। यसको साथै स्थानीय सुकमान लिम्बु, अञ्जु राई, लक्ष्मण राई आदिले पनि सडकको खराब अवस्थाले गर्दा धेरै असुविधा भइरहेकोले उक्त सडकको चाँडै मरमति गरिदिने माग गरेका छन्।
