तीनधारेको लागि आफ्नो टुरिस्ट बोक्ने इनोभा गाड़ी एम्बुलेन्सको रूपमा प्रयोग गर्ने बिक्रम सुनवारले

खरसाङ: दार्जिलिङको जोरबंगलो निवासी बिक्रम सुनवारले तीनधारे क्षेत्रका मानिसहरूको लागि आफ्नो टुरिस्ट बोक्ने इनोभा गाड़ी एम्बुलेन्सको रुपमा प्रयोग गर्न प्रदान गरेका छन्। उनले आफ्नो इनोभा गाड़ीमा केवल डिजल मात्र हालिदिए घरमै आएर तीनधारे क्षेत्रका बिमारीहरूलाई कुनै पनि अस्पताल तथा नर्सिङ होममा उपचारको लागि एम्बुलेन्सको रुपमा लगिदिने र यसको लागि भाँड़ा नलाग्ने बताएका छन्। बिक्रमले तीनधारेमा पत्रकारहरूसित कुराकानी गर्दै आफु दार्जीलिङको जोरबङ्गलो निवासी रहेको र तीनधारे आमाको माइत भएकोले तीनधारे यत्रो जनसंख्या भएको क्षेत्र भए तापनि यहाँ बिमारीहरूलाई बोक्ने एम्बुलेन्स नभएकोले गर्दा तीनधारेवासीले दु:ख पाइरहेको थाहा पाएर आफ्नो टुरिस्ट बोक्ने इनोभा गाड़ी एम्बुलेन्सको रुपमा प्रयोग गर्नलाई प्रदान गरेको बताएका छन्। तिनले अघि भने, कसैले पनि मलाई फोन गरेर बोलाए म तीनधारे क्षेत्रको लागि जता पनि जान तयार छु। जोरबंगलो निवासी बिक्रम सुनवारले आफ्नो इनोभा गाड़ी एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकोमा बिमल पन्थी युवा मोर्चाका केन्द्रीय सदस्य युकास प्रधानले तीनधारेको जनताको पक्षबाट तिनलाई धन्यवाद दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *