तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा विभिन्न कार्यहरूको अनित थापाद्वारा शिलान्यास

खरसाङ (निसं) : जीटीए चिफ् अनित थापाको विशेष उपस्थितिमा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा हुने धेरैवटा कार्यहरूको शिलान्यास गरियो। तीनधारे महानदी समष्टिको लागि जल जीवन परियोजनाको 14 वटा कार्यहरू, विभिन्न स्थानहरूमा निर्माण गरिने सार्वजनिक भवनहरूउप स्वास्थ्य केन्द्र, रोड निर्माण आदिको लागि तीनधारेको मिठाईडाँडा खेल मैदानमा सम्पन्न एउटा कार्यक्रमबीच जीटीए चिफ् अनित थापाको उपस्थितिमा तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीको बाहुलीबाट एकैचोटि शिलान्यास गरियो।  उक्त शिलान्यास कार्यक्रमको अध्यक्षता वरिष्ठ नागरिक मदनकुमार प्रधानले गरेका थिए भने भागोप्रमो तीनधारे महानदी समष्टिका प्रवक्ता बिपन विश्वकर्मले सञ्चालन गरेका थिए। कार्यक्रममा स्वागत सम्भाषण तीनधारे महानदी समष्टिका सभासद नवराज छेत्रीले राखे। कार्यक्रममा तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा मोठ 14 वटा जल जीवन परियोजनाको कार्यहरूको लागि शिलान्यास गरिएको विषयमा पीएचई विभागका कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले विस्तृत रूपमा जानकारी दिएका छन्। आज भएको शिलान्यास कार्यक्रम अन्तर्गत तीनधारे महानदी समष्टिमा मोठ 14 वटा स्थानहरूमा कार्य गरिने जसको मोठ लागत 91 करोड 55 लाख रहेको अनि मोठ 6 हजार 6 सय 30 घरहरूमा पानी ल्याउने कार्य गरिने बताए। जल जीवन परियोजना अन्तर्गत तीनधारे महानदी समष्टिको विभिन्न स्थानहरूमा घर घर पानी ल्याउने कार्य गरिनेछ।


यस अन्तर्गत महानदीको लागि 10 करोड 56 लाखको लागतमा 1,196 घरमा, 15 करोड 32 लाखको लागतमा सिविटार चियाबारीको 923 परिवारलाई, गिताङ्गेको 170 घरको लागि 3 करोड 30 लाख, जङ्गपाना चियाबारीमा 715 घरहरूमा 7 करोड 6 लाख, तीनधारे चियाबारी र नरबुङमा 832 घरको लागि 12 करोड 3 लाख अनि सिलिम हिल चियाबारीको 350 घरको लागि 7 करोड 27 लाख, शिवखोलाको 550 घरको लागि 9 करोड 60 लाखको लागत खर्चमा जल जीवन योजनाको आज अनित थापाले विधिवत् शिलान्यास गरे। तिनकै बाहुलीबाट तीनधारेको मिठाईडाँड़ास्थित खेल मैदानलाई मिनी स्टेडियममा परिणत गराउन 3 करोड 11 लाख 7 हजार 7 सय 4 रुपियाँको लागत खर्चमा गरिने भएको छ। त्यसरी नै तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूमा निर्माण गरिने सार्वजनिक भवनको पनि शिलान्यास गरिएको छ जसमा नरबुङ चियाबारीमा 38 लाख 89 हजारमा सार्वजनिक भवन निर्माणको कार्य, गिताङ्गे चियाबारीमा किचन र टोयलेटसहित 38 लाख 42 हजारमा सार्वजनिक भवन निर्माणको कार्य, नयाँ कमानमा 42 लाख हजारमा सार्वजनिक भवन, एपी बस्ती घैयाबारीमा 50 लाख 24 हजारमा सार्वजनिक भवन, सिविटार चियाबारीको मुन्शी गाउँमा 14 लाख 89 हजारमा सार्वजनिक भवनको कार्यको शिलान्यास गरिएको छ। त्यसरी नै 58 लाख 69 हजार 5 सय 95 लागत खर्चमा मालुटारको मुख्य रोडदेखि फागुटारसम्म 200 मिटरको रोड निर्माणको शिलान्यास अनि तीनधारेको राजबारीमा 26 लाख 33 हजार 4 सय छियात्तर रूपियाँमा उप स्वास्थ्य केन्द्रको निर्माणको लागि शिलान्यास पनि गरियो। शिलान्यास कार्यक्रममा भोइस अफ् किट्स नेपालमा विजेता बनेका बिजनबारीका स्पन्दन सुब्बाको प्रस्तुति रहेको थियो। त्यसरी नै म्युजिक तीनधारेको सांगीतिक टोलीले पनि सांगीतिक प्रस्तुति दिएका थिए भने स्थानीय कलाकरहरूले पनि आफ्नो प्रस्तुति दिए। यसै कार्यक्रममा मुख्य आकर्षणको रूपमा गायक पुष्पन प्रधानको पनि विशेष सांगीतिक प्रस्तुति रहेको थियो। आज तीनधारे महानदी समष्टिको विभिन्न क्षेत्रहरूका लागि जल जीवन योजनाको कार्यहरू शिलान्यास गरिएको विषयमा पत्रकारहरूसित कुराकानी गर्दै पीएचई विभागको कार्यकारी अभियन्ता मणिरत्न मंग्रातीले विस्तृत रुपमा जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *