तीनधारेमा लैंगिक समानतालाई प्रमुखता दिँदै जनचेतनामूलक कार्यक्रम सम्पन्न

खरसाङ (निसं) : पश्चिम बङ्गाल राज्य सरकारको परियोजना स्किम फर एडोलेसेन्ट गर्ल्स (एसएजी-कन्याश्री प्रकल्प)-ले किशोरीहरूको मानसिक, सामाजिक, स्वास्थ्य विकासको निम्ति जनजागरण अभियान चलाउँदै आइरहेको छ। यता खरसाङ महकुमा क्षेत्रमा गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रद्वारा सञ्चालित राज्य सरकारको यस परियोजना एसएजीले आईसीडीएस अधीनस्थ रहेर जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ। जनचेतनामूलक कार्यक्रमहरूमा विशेष रुपले समाजमा लैंगिक समानता सशक्त रहनुपर्ने, अर्ली म्यारिएज (छिट्टो गरिने बिहे वा बालविवाह) निर्मूल पार्ने विषयलाई प्रमुखता दिँदै आइरहेको छ। यसै जन जागरण अभियान अन्तर्गत लैंगिक समानतालाई प्रमुख रूपमा अघि राखेर एसएजी-को टीएम मेम्बरहरूले आईसीडीएसका सुपर भाइजर, गैर सरकारी संस्था फ्यामिली प्लानिङ एसोसिएसन (एफपीए) अफ् इण्डिया, कालचिनी ब्रान्च क्यासलटनको साथमा घैयाबारी- 2 ग्राम पञ्चायतको तीनधारे क्षेत्रमा जनचेतनामूलक कार्यक्रम आयोजना गर्यो।  तीनधारेको राजबारीस्थित जनसेवा भवनमा सम्पन्न भएको कार्यक्रममा समाजमा लैंगिक समानतालाई सुदृढ बनाउनु पर्नेबारे वक्ताहरूले जोड दिए। यसको साथै अर्ली म्यारिएज (छिट्टो गरिने बिहे वा बालविवाह)-को नकारात्मक प्रभावबारे जानकारी दिँदै यसलाई निर्मूल पर्नुपर्ने बारेमा अवगत गराइयो। कार्यक्रममा मासिक धर्म र उचित सर सफाईबारेमा विशेष जानकारी दिइयो। त्यहाँ उपस्थित बालिकाहरू र किशोरीहरूलाई 56 वटा सेनिटेरी प्याडहरू नि:शुल्क वितरण गरियो। सो प्याडहरूहरू वितरणको लागि एफएपीले एसएजीलाई उपलब्ध गराएको थियो। यस जनचेतनामूलक कार्यक्रममा एसएजीबाट प्रियङ्का विश्वकर्म, स्मृति छेत्री, स्नेहा तामाङ, आईसीडीएस-बाट सुपरभाइजर छिरिङ याङ्की भोटियाका वर्करहरू, गैर सरकारी संस्था एफपीएबाट स्वेता मोक्तान सहभागी थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *