तीनधारे नयाँ कमानमा तीनदिने विश्व शान्ति पुजाको समापन

खरसाङ (निसं) : खरसाङ खण्ड अन्तर्गत तीनधारेदेखि केही पर नयाँ कमानमा तीन दिवसीय विश्व शान्ति पुजाको आज समापन गरियो। नयाँ कमान गाउँको दुईवटा समाजहरू क्रमैले ग्राम कल्याण समिति र कार्य सेवा समिति अनि घैयाबारी ग्राम पञ्चायत तीन अन्तर्गत नयाँ कमानको 10 वटा स्वनिर्भर दलहरूको सहभागितामा उक्त तीन दिवसीय विश्व शान्ति पुजा नयाँ कमानको खेल मैदान परिसरमा सम्पन्न गरियो। यस तीन दिने विश्व शान्ति पुजामा विशेष रूपमा कालेबुङबाट म्हेम्हे कोन्चोक ग्याल्छेन अनि सिविटारको बाघमारा बस्तीबाट म्हेम्हे लवाङ दोर्जे (स्याङ्देन म्हेम्हे) उपस्थित भई पुजा अर्चना गरेका थिए। यस अन्तर्गत पहिलो दिन 31 मार्चको दिन दशमीको पुजा गर्नको साथै गुरु रिम्पोर्छेको जन्म दिन पनि पालन गरियो।


यसैगरी, दोस्रो दिन 1 अप्रेल शनिवार डोल्मा तारादेवीको पुजा साथै घ्याप्से पुजा सम्पन्न गरियो। दोस्रो दिन कालेबुङबाट आएका म्हेम्हे कोन्चोक ग्याल्छेनले धार्मिक प्रवचन दिए।  त्यसरी नै तेस्रो दिन आज दोमाङ पुजा सम्पन्न गरियो। यस अवसरमा सिविटारको बाघमारा बस्तीबाट आएका म्हेम्हे लवाङ दोर्जे (स्याङ्देन म्हेम्हे)-ले धार्मिक प्रवचन राखेका थिए। विश्व शान्ति पुजाको आज समापन पुजामा स्याङ्देन म्हेम्हेको बाहुलीबाट वाङ वितरण तथा आशिष ग्रहण गरियो। समापनको दिन आयोजक समितिको पक्षबाट सचिव दिपमाला छेत्रीले धन्यवाद ज्ञापन राखे। नयाँ कमानमा सम्पन्न तीन दिवसीय विश्व शान्ति पुजाको आयोजक समितिमा सभापति मनिता तामाङ, सचिव दिपमाला छेत्री र कोषाध्यक्ष सबिना तामाङ रहेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *