तीन दिनदेखि निखोज दुईजना किशोर, जाँचमा जुट्यो पुलिस

राजगञ्ज : तारिफ हुसेन र विजय विश्वास नाम गरेको दुईजना किशोर रहस्यमय ढङ्गले निखोज भएका छन्। तीमध्ये तारिफ राजगञ्जको कुकुरजान ग्राम पञ्चायत इलाका निवासी हुन् भने विजय विश्वास मैनागढीको अस्पतालपाड़ा निवासी हुन्। निखोज दुवै किशोर उच्च माध्यमिकका परीक्षार्थी हुन्। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार तारिफ र विजय तीन महीनाअघि फेसबुकको माध्यमद्वारा साथी भएका थिए। गत शनिबार विजय तारिफको घरमा आएका थिए भने आइतबार बिहान दुवै जलपाईगढी जानको लागि घरबाट निस्केका थिए। यसपछि ती दुई किशोरको कुनै पत्तो नलागेको साथै दुवैको मोबाइल बन्द रहेको बताइएको छ। परिवारका सदस्यहरूले निखोज भएकोबारे राजगञ्ज थानामा एउटा लिखित अभियोग दर्ता गरेको छ। तारिफको  बाबु मुबारक हुसेनले बताएअनुसार तारीफको मोबाइल बीचमा एकपल्ट अन थियो। त्यस समय मोबाइल ट्र्याक गर्दा हावड़ाको एउटा होटलको ठेगाना रहेको थाहा पाए। यसबाहेक जलपाईगढीको गरालबारी इलाकाबाट तारिफको आमालाई फोन आएको थियो। पुलिस उक्त ठाउँमा गए तापनि कुनै पत्तो नलागेको बताइएको छ। छोराहरूको कुनै खोज खबर नपाएपछि निखोज दुईजना किशोरको परिवारका सदस्यहरू निक्कै चिन्तित छन्। अर्कोतिर, स्थानीय पञ्चायत सदस्य हिलीप रायले पीडित परिवारसित भेट गरेर तिनीहरूको साथमा रहने आश्वासन दिएका छन्। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *