तीनवटा चियाकमानमा बोनस अझसम्म नदिएकोमा गोरामुमो-को आपत्ति

दार्जिलिङ : दार्जिलिङ पहाडका तीनवटा चियाकमानमा त्यहाँका श्रमिकहरूले अझसम्म पनि रहल 8 प्रतिशतको बोनस नपाएको गुनासो पोखेका छन्। यी रहल बोनस नपाउने चियाकमानहरूमा क्रमैले सिङताम, रङ्गली-रङ्लियट र लङ्भ्यु सामेल छन्। प्राप्त जानकारीअनुसार यी तीनवटा चियाकमानहरूमा गत केही अघिदेखि नै वेतन तथा बोनसलाई लिएर समय समयमा समस्या देखिँदै आइरहेको छ। वेतन अनि रहल बोनस नपाएपछि गत 10 दिसम्बरको दिनदेखि खरसाङको लङ्भ्यु चियाकमान केही दिनको निम्ति बन्द भएको थियो। तथापि, कमान प्रबन्धक पक्षसँग बैठक गरेपछि उक्त कमान पुनः खोलिए तापनि हालसम्म कमानको अवस्था सटीक नरहेको थाहा लागेको छ। यी तीनवटा चियाकमानमा अझैसम्म रहल बोनस नपाएकोले त्यहाँका स्टाफ तथा श्रमिकहरूले विभिन्न समस्याको सामना गर्न परेकोले गर्दा नै गोरामुमो श्रमिक संगठन एचपीडब्ल्युयु-ले यसबारे प्रश्न उठाएको छ। एचपीडब्ल्युयु केन्द्रीय महासचिव एसके लामाले यी तीनवटा चियाकमानमा रहल बोनस वितरण नगरेकोमा आपत्ति जनाउँदै चाँडै वितरण गरिनुपर्ने माग दोहोर्‍याएका छन्। यसको साथै तिनले विनय पन्थी गोजमुमोको श्रमिक संगठन डीटीडीपीएलयु-को भूमिकामाथि पनि प्रश्न खडा गर्नको साथै तीखो शब्दमा कटाक्ष कसेका छन्। 20 प्रतिशत बोनस हाम्रो कारणले पाएको हो भनेर एक्लै श्रेय लिने विनय पन्थी गोजमुमो र डीटीडीपीएलयु यी तीनवटा चियाकमानमा बोनस नदिँदा पनि अहिलेसम्म पनि किन मौन छन् भन्ने तिनले प्रश्न तेर्साएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *