टीएमसीले बेरोजगारहरूलाई रोजगार दिलाउने हरसम्भव प्रयास गरिरहेछ: एलबी राई

खरसाङ: तृणमूल कांग्रेसले राज्यभरिनै बेरोजगारहरूलाई रोजगार उपलब्ध गराउने हरसम्भव प्रयास गरिरहेको हिल तृणमूल कांग्रेस अध्यक्ष एलबी राईले दावी गरेका छन्। कोरोना संक्रमणको कारण हाल देशका अन्य राज्य तथा विदेशतिरबाट आफ्नो घर फर्किएका धेरै युवा-युवतीहरू बेरोजगार बनेका छन्। दार्जीलिङ पहाड़मा यसरी बेरोजगार बनेर हाल धेरै शिक्षित युवा-युवतीहरू त्यसै बसिरहेका छन्। यस दिशामा तृणमूल कांग्रेसले ती युवा बेरोजगारहरूलाई रोजगार दिने क्रममा के-कस्तो कार्य गरिरहेछ भनी सोधिएको प्रश्नको उत्तरमा अध्यक्ष राईले पहाड़ मात्र नभएर सम्पूर्ण राज्यभरिनै बेरोजगारहरूको संख्या धेरै बढ़ेको उल्लेख गर्दै यद्यपि यसको निम्ति राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले ती बेरोजगार युवा-युवतीहरूलाई रोजगार दिने हरसम्भव प्रयास गरिरहेको जनाए। तिनले पहाड़का सबै युवा बेरोजगारहरूको विवरण हिल तृणमूल कांग्रेसको पक्षबाट राज्यलाई पठाइ सकेको जनाउँदै यसैलाई हेरेर राज्यले पहाड़मा पनि रोजगारको व्यवस्था गर्न सक्ने सम्भावना व्यक्त गरे। राईले युवाहरूलाई सुझाव दिँदै केवल सरकारी नोकरीको निम्ति मात्र आशावादी नबनेर विभिन्न स्वरोजगार तथा घरेलु उत्पादनहरूमाथि पनि ध्यान दिएर आफैलाई स्वलम्बी बनाउने अनुरोध पनि गरे। तिनले यसको निम्ति राज्य सरकारबाट पनि आर्थिक सहयोग प्राप्त हुने अवगत गराउँदै सबैले यसको लाभ उठाउने आग्रह गरे। आज पहाड़मा मानिसहरूले तृणमूल कांग्रेसको यथार्थवादी कामलाई हेरेर आफ्नो समर्थन जनाइरहेको उल्लेख गर्दै एलबी राईले मानिसहरूको यिनै विश्वासलाई लिएर पार्टीले आफ्नो अघिल्लो रणनीति तयार पार्ने कुराको खुलासा पनि गरेका छन्। तिनले पार्टीको हाई कमाण्डबाट पहाड़मा सांगठनिक गतिविधिहरूलाई अगाड़ी बढ़ाउनु भन्ने आदेश आएकै फलस्वरूप अहिले पार्टीका सबै प्रतिनिधिहरू यसैको निम्ति लागिरहेको जनाउँदै यसमा पहाड़वासीको समर्थन पनि पाइरहेकोका खुशी व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *