तृणमूल समर्थकहरूद्वारा एनजेपी थाना अघि विरोध प्रदर्शन

सिलगढी : भाजपा नेतृत्वहरूले राज्य सरकारविरुद्ध अभद्र टिप्पणी गरेको आरोप लगाउँदै यसको प्रतिवादमा आज डाबग्राम-फुलबारी युवा तृणमूल कांग्रेसले एनजेपी थानामा विरोध प्रदर्शन गर्यो। यसको साथै भाजपाका नेता तथा कार्यकर्ताहरूविरुद्ध चाँडै कानुनी कार्वाही गरिनुपर्ने संगठनका अध्यक्ष गौतम गोस्वामीले माग गरेका छन्। यस अवसरमा दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले भाजपा राज्य महासचिव सायन्तन बसु, रथीन्द्र बसु र सांसद सौमित्र खाँविरुद्ध थानामा लिखित अभियोग दर्ता गरेका छन्। भाजपाले बंगालमा अशान्ति फैलाउने षड्यन्त्र गरिरहेको आरोप लगाउँदै चाँडै तिनीहरूविरुद्ध कानुनी कार्वाही गरिनुपर्ने तिनले माग गरे। स्मरण रहोस्, भाजपा महिला मोर्चा अनि युवा भाजपाको तर्फबाट सिलगढी सहरमा हिजो बङ्गालमा महिलाहरूमाथि शोषण तथा अन्याय अत्याचार भइरहेको आरोप लगाउँदै सिलगढी महकुमा शासकलाई एउटा ज्ञापन चढाउने साथै सहरमा र्‍यालीको आयोजना गर्ने कार्यक्रम रहेको थियो। तर उक्त र्‍यालीको लागि पुलिस प्रशासनले अनुमति नदिए तापनि भाजपाको तर्फबाट व्यापक संख्यामा समर्थकहरू भेला भएर निकालेको र्‍यालीले पुलिसले ब्यारिकेड लगाएर रोक्यो। यसपछि भाजपाका नेतृत्वहरूले राज्य सरकारविरुद्ध विभिन्न आरोपहरू लगाएका थिए। यसको साथै र्‍याली हासमी चोकमा रोकेपछि भाजपा समर्थकहरूको पुलिस बलसित हातापाई समेत भएपछि पुलिसले भाजपाका केही शीर्ष नेता लगायत कर्मीहरूलाई हिरासतमा लिएको थियो। उक्त र्‍यालीमा उपस्थित भाजपाका नेता तथा समर्थकहरूले राज्य सरकारविरुद्ध विभिन्न नाराबाजी गर्नको साथै राज्य सरकार विरुद्ध आरोपहरू लगाएको बताउँदै तृणमूल नेता तथा कर्मीहरूले आज तिनीहरूविरुद्ध कानुनी कार्वाही गरिनुपर्ने माग गर्दै एनजेपी थानामा विरोध प्रदर्शन गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *