तृणमूल श्रमिक संगठनमा सामेल भएपछि कामबाट निकालिदिइयो 72 जना श्रमिकहरूलाई

सिलगढी : तृणमूल श्रमिक संगठनमा सामेल भएपछि 72 जना श्रमिकहरूलाई कामबाट निकालिदिएको आरोप रहेको छ। प्राप्त जानकारीअनुसार फुलबारी 1 नम्बर अञ्चल अन्तर्गत पर्ने एउटा निजी ट्रान्सपोर्ट संस्थामा काम गर्ने 72 जना श्रमिकहरूले केही समय अघिदेखि विविध मागलाई लिएर ट्रान्सपोर्ट प्रबन्धनसित सम्पर्क गरिरहे तापनि मालिक पक्षले तिनीहरूको मागप्रति ध्यान नदिएको बताइएको छ। यसपछि ती श्रमिकहरू आफ्नो माग पुरा गर्नको लागि तृणमूल श्रमिक संगठनमा सामेल भए। ती 72 जना श्रमिकहरू तृणमूल श्रमिक संगठनमा सामेल भएपछि तिनीहरूलाई नोकरीबाट निकालिदिएको आरोप रहेको छ। ती श्रमिकहरूलाई पुनः बहाली गरिनुपर्ने माग गर्दै तृणमूल श्रमिक संगठनले आन्दोलन गरिरहेको छ। फुलबारी एक नम्बर अञ्चल तृणमूल श्रमिक संगठनका ब्लक अध्यक्ष सुकान्त करले ती 72 जना श्रमिकहरूलाई पुनः बहाली नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। तथापि, यस सम्बन्धमा मालिक पक्षले कुनै प्रतिक्रिया दिन नचाहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *