सिलगढी : ट्युसन पढ्न गएकी एकजना छात्रालाई यौन उत्पीड़न गरेको अवकाशप्राप्त शिक्षकविरुद्ध अभियोग उठेको छ। प्राप्त जानकारी अनुसार सिलगढीको मिलनपल्ली इलाका निवासी उक्त छात्रा 32 नम्बर वार्डको सुकान्तनगर इलाकामा अवकाशप्राप्त स्कुलका शिक्षक विधायक चन्द्र दासकोमा ट्युसन पढ्ने गर्दथिन्। ट्युसन पढ्न जाँदा अवकाशप्राप्त शिक्षकले छात्रालाई यौन उत्पीडन गर्ने गरेको आरोप रहेको छ। यस घटनापछि उक्त छात्रा त्यहाँ ट्युसन पढ्न जान नचाहँदा छात्राको आमाले जोर जबरजस्ती ट्युसन पठाउन चाहँदा उक्त छात्रा रुँदै केही महिना अघिदेखि ट्युसन पढाउने शिक्षकले यौन उत्पीड़न गरिरहेको बताइन्। घटनाबारे थाहा पाएपछि इलाकामा मानिसहरूले उक्त शिक्षकको घरमा तोडफोड गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगे। अर्कोतिर, उक्त शिक्षकलाई कठोर सजाय दिइनुपर्ने माग गर्दै पीडित छात्राको परिवारका सदस्यहरूले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको छ। घटनापछि आरोपी शिक्षकले सुइँकुच्चा ठोकेपछि पुलिसले तिनको खोजी शुरू गरेको छ। उक्त शिक्षकसित फोन मार्फत् सम्पर्क गर्ने प्रयास गरे तापनि तिनको फोन बन्द रहेको थाहा लागेको छ।