उत्तर बङ्गालको राजस्व सत्तारूढ पार्टीहरूले चुसिरहे तापनि विकासको लागि कुनै लगानी नगरेको सांसद राजु विष्टको आरोप

सिलगढी : महत्त्वपूर्ण भू-रणनैतिक अवस्थितिमा रहेको सिलगढ़ी शहरमा बाँकी दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रमा सरह नै अथाह सम्भावनाहरू छन्। उत्तर बङ्गालको सबैभन्दा ठूलो शहरको रूपमा रहेको सिलगढ़ी समग्र क्षेत्रको वित्तीय राजधानी पनि हो अनि बीजेपी-को दृढ विश्वास रहिआएको छ कि यदि हाम्रो क्षेत्रले विकास गर्नु हो भने सिलगढ़ी विकसित हुनु पर्दछ। आज गुरुग्रामले जसरी हरियाणालाई, बेङ्गलुरुले कर्नाटकलाई अनि नोएडाले उत्तर प्रदेशको विकासलाई गति प्रदान गरिरहेको छ, त्यसरी नै सिलगढ़ीले पनि यथोचित भिजन र योजनाका साथ समग्र उत्तर बङ्गाल क्षेत्रलाई ऊर्जावान बनाउन सक्ने क्षमता राख्दछ। 


यसको भू-रणनैतिक अवस्थिति र अथाह सम्भावनाको बावजूद बितेका 45 वर्षमध्ये 34 वर्ष सीपीआईएम-कङ्ग्रेस अनि 11 वर्ष टीएमसीको शासनअन्तर्गत सिलगढ़ीको प्रशासन बिना कुनै भिजन र योजना जसोतसो चलाइराखेको छ।  सत्तामा आएका पार्टीहरूले उत्तर बङ्गालबाट राजस्व त चुस्नसम्म चुसिरहेका छन् तर हाम्रो क्षेत्रमा कुनै लगानी भने गरेका छैनन्। हाम्रो क्षेत्रका जनताले बीजेपीमाथि आफ्नो आस्था र विश्वास व्यक्त गरेका छन् अनि हामी जनतालाई आश्वस्त गर्दछौँ कि तपाईँहरूको आशीर्वाद अनि समर्थनद्वारा हामीले सिलगढ़ीलाई एउटा स्मार्ट ग्रीन सिटीमा परिणत गर्नेछौँ तथा यसको विकास समग्र उत्तर बङ्गाल क्षेत्रको विकासको इञ्जिनको रूपमा गर्नेछौँ।

हाम्रो भिजन, सिलगढ़ीको लागि एउटा स्वच्छ, ईमानदार, पारदर्शी अनि भ्रष्टाचारमुक्त प्रशासन प्रदान गर्नु रहेको छ। हामीले उत्तम कानून एवम् व्यवस्था प्रणाली-जनमैत्रीपूर्ण पुलिस व्यवस्था अनि आपराधिक गतिविधिविरुद्ध शून्य सहिष्णुताको नीतिलाई अगाड़ि बढ़ाउने छौँ। हामीले नगर पालिकाका सेवाहरू घर-दैलोसम्म पुऱ्याउने छौँ अनि ठोस फोहोरमैला प्रबन्धन, उत्तम नाला एवम् ढाल निकासी पूर्वाधार निर्माण गरेर सिलगढ़ीलाई एउटा स्वच्छ एवम् ग्रीन शहर बनाउने छौँ। हामीले सिलगढ़ी शहरको चारैतिर रिङ्ग रोडको विकास गर्नेछौँ अनि शहरमा पैदल यात्रीहरू, साइकल चालक तथा ट्रयाफिकअनुकूल व्यापक सड़क पूर्वाधारका साथै मल्टिलेभल पार्किङ, सार्वजनिक शौचालय अनि पिउने पानीका सुविधाहरू उपलब्ध गराउने छौँ। हामीले युवाहरूका लागि नयाँ स्टेडियम र खेलकूद केन्द्रहरूको निर्माणका साथै अत्याधुनिक सुविधाहरू उपलब्ध गराउने छौँ। हामीले हरेक वार्डमा प्राथमिक स्वास्थ्य केन्द्रहरूको विकास गरेर शहरभरि मूलभूत स्वास्थ्य पूर्वाधारमा सुधार गर्नेछौँ, पर्यटकहरूलाई आकर्षित गर्न महानन्दा, बालासन अनि पञ्चनदी नदीतटहरूको विकास गर्नेछौँ तथा पर्यटन पूर्वाधार विकसित गर्ने अन्य परियोजनाहरू शुरू गर्नेछौँ।


सबैभन्दा महत्त्वपूर्ण, हामीले सिलगढ़ीमा लगानी आकर्षित गरेर यसलाई एउटा आईटी हबको रूपमा विकसित गर्नेछौँ अनि हाम्रा नागरिकहरूका लागि उच्च जीवन स्तर र गुणवत्तापूर्ण जीवन-यापनको सुविधा प्रदान गर्नेछौँ। हामीले युवाहरू निम्ति उनीहरूका पेशामा उत्कृष्टता हासिल गर्ने अवसर उपलब्ध गराउने छौँ अनि स्व-सहायता समूहहरू (SHGs) मार्फत महिला सशक्तिकरणको दिशामा कार्य गर्नेछौँ।

टीएमसीले ठूला-ठूला दावीहरू गरे तापनि सिलगढ़ी नगर पालिकाको लागि मात्र 250 करोड़ रुपियाँको बजेट दिन्छ। यति कम्ती रकमले उत्तम पूर्वाधारको निर्माण त परै जाओस्  नालाहरू सफा गर्न पनि पुग्दैन। सिलगढ़ीको विकास गर्न टीएमसी पूर्णतया असक्षम छ र साँच्चै भन्ने हो भने टीएमसीलाई हाम्रो क्षेत्रको विकासबारे अलिकति पनि पर्वाह छैन।

सिलगढ़ीलाई एउटा स्मार्ट ग्रीन सिटीको रूपमा विकसित गर्नका लागि हामीले 10 हजार करोड़ रुपियाँभन्दा धेरैको लगानी आकर्षित गर्नु पर्ने खाँचो छ र यसको लागि हामीले केन्द्रीय सरकारसम्म अनि आवश्यक परे विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) सम्म पुग्नु पर्ने खाँचो रहेको छ।

हाम्रो क्षेत्रका युवाहरू जीवन-यापनको खोजीमा टाढ़ा-टाढ़ाका शहरतिर पलायन गर्न नपरोस् भनी सिलगढ़ीको विकास सुनिश्चित गर्न बीजेपीले कुनै कसर बाँकी राख्ने छैन। सिलगढ़ी र हाम्रा भावी सन्ततिलाई एउटा उत्तम एवम् उज्ज्वल भविष्य उपलब्ध गराउने हाम्रो सामूहिक परिकल्पनालाई साकार पार्न बीजेपीलाई एउटा मौका दिन म जनतासँग आह्वान गर्दछु।

(भाजपाका राष्ट्रिय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टद्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तै)

Leave a Reply

Your email address will not be published. Required fields are marked *