उत्तरबंग उत्सवमा सीके श्रेष्ठ र रङ्गु सौरिया बङ्गरत्न पुरस्कारद्वारा पुरस्कृत

सिलगढी : सिलगढीको बाघाजतीन पार्कमा उत्तरबंग उत्सवको राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले आज विधिवत् रूपमा उद्घाटन गरिन्। उत्तरबंग उत्सवको मञ्चबाट प्रत्येक वर्ष झैँ यस वर्ष पनि 9 जना शीर्ष व्यक्तित्वलाई बङ्गरत्न पुरस्कारद्वारा सम्मान जनाइयो। तीमध्ये कालेबुङ जिल्लाका प्रख्यात नाटककार तथा समाजसेवी सीके श्रेष्ठ र मिरिकको तराई क्षेत्रमा पर्ने पानीघट्टाका समाजसेवी रङ्गु सौरियालाई पनि बङ्गरत्न पुरस्कारद्वारा सम्मान जनाइयो। यसैगरी, सिलगढीका एकजना विशिष्ट चिकित्सक शेखर चक्रवर्तीलाई पनि उक्त पुरस्कारले सम्मानित गरियो। यसबाहेक मुख्यमन्त्रीले आज टिस्टा नदीमा जयी सेतु‘, कुचबिहारको निशिगञ्जमा दमकल केन्द्र लगायत राज्यमा धेरैवटा नयाँ परियोजनाहरूको पनि उद्घाटन गरे। यस अवधि मुख्यमन्त्रीले केन्द्रको भाजपा सरकारको खोइरो खन्दै पश्चिम बंगालमा अब केन्द्रले केही गर्न नपर्ने राज्यले सबै कुरा गरिदिने बताए। तिनले अझ भनिन्, राज्यमा चिया सुन्दरी परियोजनामार्फत् श्रमिकहरूको घर बनाइनेछ। आजको उत्तरबंग उत्सव कार्यक्रममा उत्तर बंगाल विकास मन्त्री रवीन्द्रनाथ घोष, पर्यटन मन्त्री गौतम देव लगायत तृणमूल कङ्ग्रेसका नेतृत्वहरू पनि विशेष रूपमा उपस्थित थिए। आजदेखि शुरू भएको उत्तरबंग उत्सव आगामी 10 दिनसम्म चल्नेछ। प्रत्येक जिल्लाको जिल्ला सदर अनि आदिवासी प्रभावित उक्त उत्सव पालन गरिने भएको छ। यसै अन्तर्गत जीटीए क्षेत्रमा पर्ने दार्जिलिङको चौरस्तामा आगामी 3 र 4 फरवरी, टाउन कमिटी हल खरसाङमा 4 र 5 फरवरी, यसपछि 6 र 7 टाउन हल टाउन हल कालेबुङ अनि 9 र 10 फरवरी छोटा फागु चियाबारी गोरूबथान ब्लकमा उत्सवको आयोजना गरिने भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *