उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको प्रसुति विभाग दयनीय अवस्थामा

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको प्रसुति विभाग खुबै दयनीय अवस्थामा पुगेको छ। प्रसुति विभागको चारैतिर विषाक्त पार्थेनियम रहेको, बिल्डिङको विभिन्न ठाउँको पिलर तथा छाना भत्केर भग्नाशेषमा परिणत भएको छ भने कुनै ठाउँमा छाना भत्केर जताततै झुन्डिरहेको अवस्थामा रहेको छ। मेडिकलबाट फ्याँकेको फोहोर-मैलाहरू मेडिकल परिसरभित्र जताततै छरपस्ट रहेको छ। यसबाहेक बेबी केयर युनिट बाहिर कुकुरहरू घुमिरहने भएकोले यो निक्कै ठुलो समस्या रहेको देखिन्छ। केही दिन अघि सडक दुर्घटनामा परेका एकजना रोगीको काटेको हात बेडबाटै कुकुरले मुखमा च्यापेर यताउता घुमफिर गरिरहेको दृश्यबारे सर्वविदित नै रहेको छ। मेडिकल कलेजको परिसरमा सुरक्षा व्यवस्थाको पनि अभाव रहेको देखिन्छ। मेडिकल कलेजमा विविध समस्या रहे तापनि मेडिकल कर्तृपक्षले यसबारे किन उचित कदम नउठाएको भन्ने विषयमा मानिसहरूले प्रश्न चिन्ह खडा गरेका छन्। यस सम्बन्धमा मेडिकलका सुपर सञ्जय मल्लिकले बताएअनुसार मेडिकल परिसरमा रोगीहरू तथा तिनका परिवारका सदस्यहरू दिनहुँ विभिन्न रोगको जाँच गराउन आउने गर्दछन्। यसको साथै मेडिकल परिसरमा दोकान-पाटहरूको संख्या पनि बढ्दै गइरहेको छ। यस विषयमा कोलकाता स्वास्थ्य विभागलाई अवगत गराएकोले चाँडै नै यस समस्याको समाधान गरिने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *