उत्तरकन्या अभियानमा प्राण गुमाउने उलेन रायको शव 9 दिनपछि ल्याइयो घर

सिलगढी : उत्तरकन्या अभियान अवधि प्राण गुमाउने भाजपा कार्यकर्ता उलेन रायको 9 दिनपछि आज पार्थिव शरीर अन्तिम संस्कार गर्नको लागि घरमा ल्याइपुर्‍याइयो। यस अवसरमा भाजपाको तर्फबाट तिनलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो। स्मरण रहोस्, गत 7 दिसम्बरको दिन भाजपाको उत्तरकन्या अभियान अवधि भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएको थियो। पुलिसले चलाएको गोली लागेर तिनको मृत्यु भएको मृतकका परिवार लगायत भाजपाको अभियोग रहेको छ। उलेन रायको शवको दोस्रोपल्ट पोस्टमार्टम गरिनुपर्ने माग गर्दै मृतकका परिवारका सदस्यहरूले अदालतमा गुहार लगाएका थिए। तथापि, दोस्रोपल्ट पोस्टमार्टमको अनुमति नपाए तापनि सट गनको छर्रा लागेर तिनको मृत्यु भएको पोस्टमार्टमको रिपोर्टमा स्पष्ट रहेकोले भाजपा नेतृत्व लगायत उलेन रायको परिवारका सदस्यहरू सन्तुष्ट हुन बाध्य बनेको बताइएको छ। अन्ततः तिनको मृत्यु भएको 9 दिनपछि आज अदालतको निर्देशको पालन गरेर उलेन रायका परिवार लगायत दार्जिलिङ, जलपाईगढी जिल्लाका भाजपा नेतृत्व तथा समर्थकहरू तिनको शव लिन मेडिकल कलेज एवम् अस्पतालमाको मुर्दाघर पुगे। तर प्रशासनिक खिचातानीको कारणले शव ल्याउन केही विलम्ब भएपछि तिनीहरूले केही समयसम्म विरोध प्रदर्शन गरेको बताइएको छ। यसपछि सबै नियमहरू पालन गर्दै परिवारका सदस्यहरूले त्यहाँबाट शव लिएर गाजोलडोबा प्रस्थान गरे। तथापि,  परिवारका सदस्य लगायत जलपाईगढी जिल्लाका भाजपा अध्यक्ष बापी गोस्वामीले उलेन रायको मृत्युलाई लिएर क्षोभ प्रकट गर्दै भाजपा सत्तामा आएपछि उलेन रायको मृत्युको उचित जाँच पड्ताल गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *