उत्तरकन्या अभियानमा प्राण गुमाउने उलेन  रायको घरमा पुगे भाजपा सांसदहरू, दोस्रोपल्ट शवको पोस्टमार्टम गरिने

सिलगढी : उत्तरकन्या अभियान अवधि हिजो भाजपा कार्यकर्ता उलेन रायको मृत्यु भएपछि राज्य सरकारविरुद्ध भाजपाका राज्य नेतृत्वहरूले क्षोभ प्रकट गरेका छन्। मृतक उलेन रायको शव दोस्रोपल्ट पुनः पोस्टमार्टम गरिनुपर्ने भाजपाका नेतृत्वहरू लगायत परिवारका सदस्यहरूले माग गर्नको साथै यसलाई लिएर अदालतको दैलो ढकढकाएको बताइएको छ। अर्कोतिर, जलपाईगढी सर्किट बेञ्चले दोस्रोपल्ट शवको पोस्टमार्टम गर्ने निर्देश दिएको छ। 3 जना डाक्टरको उपस्थितिमा उलेन रायको फेरि पोस्टमार्टम गरिनको साथै यस अवधि भीडियोग्राफी पनि गरिने भएको छ। सांसद राजु विष्ट, जयन्त राय, निशीथ प्रामाणिक लगायत भाजपाका शीर्ष नेतृत्वहरू आज बिहानै गजलडोबास्थित मान्तादारी गाउँमा मृतक उलेन रायको घरमा पुगेर तिनका परिवारका सदस्यहरूसित भेट गरेर शोक समवेदना प्रकट गरे। यसको साथै दार्जिलिङका भाजपा सांसद राजु विष्टले मृतककी स्वास्नी मालती रायसित घण्टौँसम्म कुराकानी गरे। यसपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले मृतकको परिवारका सदस्यहरूले नोकरी लगायत क्षतिपूर्ति पाउनेछन् साथै भाजपा सदैव पीडित परिवारको पक्षमा रहने बताए। तिनले उक्त घटनाको सीबीआई जाँच गरिनुपर्ने माग पनि गरे। सबै सांसदहरूले गृहमन्त्री अमित शाहलाई घटनाबारे अवगत गराउने जानकारी दिँदै तिनले अझ भने, सीआईडीमाथि आफूहरूलाई भरोसा नरहेको किनभने सीआईडी मुख्यमन्त्री ममता ब्यानर्जीको हो, पश्चिम बंगाल र यहाँका जनताको होइन। जलपाईगढीका सांसद जयन्त रायले पनि सीआईडीको भूमिकालाई लिएर प्रश्न खडा गरे। पीडित परिवारका सदस्यहरूको पक्षमा आफूहरू सदैव साथमा रहने भाजपा सांसदहरूले परिवारका सदस्यहरूलाई आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *