भ्याक्सिनबारे केन्द्रीय मन्त्रीहरूसित भेट गरे बङ्गालका भाजपा सांसदहरूको प्रतिनिधि टोलीले

नयाँ दिल्ली : पश्चिम बङ्गालका भाजपा सांसदहरूको एउटा उच्च स्तरीय प्रतिनिधि टोलीले भाजपा राज्यका अध्यक्ष दिलिप घोषको नेतृत्वमा आज नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य मन्त्री मानसुक एल मन्दाभिया अनि ह्युमन रिसोर्स डेभलपमेन्ट विभागीय मन्त्री धर्मेन्द्र प्रधानसित भेट गरेर बंगालमा भ्याक्सिनलाई लिएर देखा परेको विसङ्गतिबारे कुराकानी गरे। उक्त प्रतिनिधि टोलीका सदस्यहरूले बङ्गालमा कोरोना भ्याक्सिनको खोपलाई लिएर विसङ्गति देखापरेको जानकारी गराउँदै त्यहाँका साधारण जनताले कोरोनाको भ्याक्सिन लगाउन नपाएको तर केवल तृणमूल नेता तथा समर्थकहरूलाई मात्र प्राथमिकता दिएको बारे जानकारी गराए। यस अवसरमा स्वास्थ्य मन्त्रीले प्रतिनिधि टोलीलाई दिएको जानकारीअनुसार हालसम्म केन्द्र सरकारले बङ्गाललाई 3.14 करोड डोज निःशुल्क भ्याक्सिन उपलब्ध गराएको तर तीमध्ये अहिलेसम्म मात्र 2.8 करोड भ्याक्सिनको प्रयोग गरेको साथै निजी अस्पतालहरूलाई लगाएर अहिलेसम्म 3.02 करोड मानिसलाई खोप लगाइसकेको बताए। बङ्गालमा मोठ जनसंख्याको 29 प्रतिशत मानिसहरूले पहिलो डोज लगाइसकेको अनि केवल 12 प्रतिशत जनताले मात्र हालसम्म डबल डोज भ्याक्सिन लगाइसकेको जानकारी गराए। भ्याक्सिन लगाउनु पाउनु प्रत्येक भारतीय नागरिकहरूको अधिकार रहेको कुरा केन्द्र सरकारले अगावै घोषणा गरेको हुनाले देशभरिको सबै नागरिकलाई निःशुल्क भ्याक्सिन उपलब्ध गराउने आश्वासन दिएको छ। अर्कोतिर, प्रतिनिधि टोलीले केन्द्रका मन्त्रीहरू समक्ष बङ्गालमा पनि कुनै विसङ्गति बिनै सबैलाई समान रूपमा भ्याक्सिन उपलब्ध गराउनुपर्ने माग गरेको बताइएको छ। यस अवसरमा दार्जिलिङका सांसद राजु विष्टले विशेष गरेर दार्जिलिङ पहाड, तराई अनि डुवर्स क्षेत्रमा कम मात्रामा कोरोना भ्याक्सिन आपूर्ति गरिएकोले गर्दा ग्रामीण क्षेत्र, कमान, सिन्कोना बगान आदिका मानिसहरू यसबाट वञ्चित रहेको केन्द्रीय मन्त्रीहरूसमक्ष जानकारी गराए। केन्द्रीय मन्त्रीले उक्त कुरा सुनेपछि यस विषयलाई लिएर उचित पहल गरिने साथै कुनै पनि भेदभाव नगरी सबै जनतालाई भ्याक्सिन उपलब्ध गराउने जानकारी दिएको सांसद राजु विष्टले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *