भ्याक्सिनलाई लिएर राज्यमा सेन्डिकेट चलिरहेको छ : दिलीप घोष

सिलगढी : राज्यमा भ्याक्सिनलाई लिएर सेन्डिकेट चलिरहेको साथै कोलकातादेखि सिलगढीसम्म अझसम्म पनि कटमनी बन्द नभएको भाजपा राज्य अध्यक्ष दिलीप घोषले आरोप लगाएका छन्। आज सिलगढीमा एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तिनले यस प्रकारको मन्तव्य पोखेका हुन्। भाजपा राज्य अध्यक्ष दिलीप घोष गत शनिबार उत्तर बङ्गालको तीनदिने भ्रमणमा आएका थिए भने तिनले सिलगढीमा भाजपाका नेता तथा कार्यकर्ताहरूसित एउटा बैठक गरे। तिनले आज सिलगढीस्थित भाजपाको पार्टी कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना पनि गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, केन्द्र सरकारले निःशुल्क भ्याक्सिन दिए तापनि राज्यमा भ्याक्सिनको व्यवसाय चलिरहेको छ। यहाँका मानिसहरूले रुपियाँ दिएर कोरोनाको भ्याक्सिन लगाइरहेका छन्। कलकत्तामा नकली भ्याक्सिन काण्डमा पक्रा परेका देवाञ्जन देवको प्रसङ्गमा तिनले उक्त मामिलाको सीबीआईद्वारा जाँच गरिनुपर्ने आफूहरूले माग गरेको बताए। अर्कोतिर, दिलीप घोषको उक्त बयानको तृणमूल नेता गौतम देवले खण्डन गरेका छन्। तिनले भने, दिलीप घोषले मानिसहरूलाई भुल जानकारी दिइरहेका छन्। राज्य सरकारले कोरोना टीकाकरणको लागि कुनै रुपियाँ नलिएको तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *