वार्ड पार्षद शालिनी डालमियालाई  मार्ने धम्की दिएको आरोपमा मुर्शिदाबादबाट 2 जना पक्राउ

सिलगढी : सिलगढी नगरनिगमका भाजपा पार्षदलाई मोबाइलमार्फत्  गाली गलौज गर्दै मार्ने धम्की समेत दिएको आरोपमा पुलिसले मुर्शिदाबादबाट 2 जना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा बीरेन राय र राजेश राय सामेल छन्। स्मरण रहोस्, सिलगढी नगरनिगमको 8 नम्बर वार्डका भाजपा पार्षद शालिनी डालमियाले बताएअनुसार गत 25 सेप्टेम्बरको राति एउटा अपरिचित नम्बरबाट तिनलाई फोन गरेर गाली गलौज गर्दै मार्ने धम्की दिएपछि 26 सेप्टेम्बरमा तिनले यसबारे सिलगढी थानामा अभियोग दर्ता गरिन्। यसपछि उक्त घटनालाई केन्द्र गरेर सिलगढीमा राजनीतिक माहौल गर्मिएको थियो। भाजपाको तर्फबाट यस मामिलाको जाँच गरेर आरोपीलाई चाँडै पक्राउ गर्ने पुलिसलाई दबाउ दिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पार्षदलाई धम्की दिने नम्बरलाई ट्रेस गरेपछि यो नम्बर मुर्शिदाबादको रहेको थाहा पाए। यसपछि 27 सेप्टेम्बरमा पुलिसको एउटा टीम मुर्शिदाबाद गएर 2 जना आरोपीलाई मुर्शिदाबादबाट पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका दुवैजना पुरानो अपराधी हुन्। यसभन्दा अघि यी दुईविरुद्ध भिन्ना-भिन्नै चर्चित मानिसहरूलाई धम्की दिएको आरोप रहेको छ। दुवैको कुनै पनि राजनीतिक पार्टीसित सम्पर्क नरहेको बताइएको छ। पुलिसले घटनाबारे गहनताको साथमा जाँच गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *