वार्ता जीटीएको लागि होइन, गोर्खाहरूको समस्या समाधानको लागि हो : राजु विष्ट

खरसाङ : पहाडको समस्यालाई लिएर त्रिपक्षीय वार्ताको मिति तय भएपछि आज दार्जिलिङ गइरहेको समय खरसाङमा गोरामुमो तथा भाजपा समर्थकहरूले सांसद राजु विष्टलाई भव्य रूपमा स्वागत जनाए। यस अवसरमा सांसद राजु विष्टले आगामी 12 अक्टोबरमा हुने त्रिपक्षीय वार्ताबारे जानकारी दिँदै भने, त्रिपक्षीय वार्ता जीटीएको लागि वार्ता होइन तर गोर्खाहरूको समस्या समाधानको निम्ति हुनेछ। जीटीए चाहनेहरूलाई यो वार्तामा बोलाइएको छैन। तरै पनि कोही पनि वार्तामा बस्न इच्छुक छन् भने मसित सम्पर्क गरून्, म गृहमन्त्रीसित यो विषयमा कुराकानी गरिदिनेछु। यहीँ वार्तामा नै गृहमन्त्रीले केही स्पष्ट निर्णय लिइनसक्ने सङ्केत दिँदै राजु विष्टले राज्य सरकारको प्रतिनिधिले पनि वार्तामा भाग लिनसक्ने सम्भावना व्यक्त गरे। खरसाङमा पत्रकारहरूलाई सम्बोधन गर्दै भारत सरकारको तर्फबाट त्रिपक्षीय वार्ता बोलाइनु सकारात्मक पहल हो जुन हामीले लामो समयदेखि पर्खिरहेको वार्ता हो भन्दै गृहमन्त्री अमित शाहको अध्यक्षतामा सम्पन्न हुने यो वार्ता पहिलाको वार्ताहरू भन्दा महत्वपूर्ण छ भनी सांसद विष्टले बताए। तिनले अझ भने, पहिलाका वार्ताहरूमा डुवर्स छोड़िन्थ्यो तर यसपालीको वार्तामा डुवर्सका प्रतिनिधिहरू पनि सामेल हुनेछन्। तिनले यसपालीको वार्ता गोर्खाहरूको समस्या समाधान हुने वार्ता हो भन्दै यस वार्तामा केन्द्र सरकार, राज्य सरकार र गोर्खाहरूका प्रतिनिधिहरू उपस्थित हुने बताए। तिनले मोदीजीको अगुवाईमा देशको सबै समस्याहरू समाधान भइरहेको र यसपाली गोर्खाहरूको समस्या पनि अवश्यै समाधान हुनेछ भन्दै गोर्खाहरूले यसपाली अवश्य पनि न्याय पाउने गम्भीर वार्ता हो भनी बताए। खरसाङमा केही समय बिताएपछि सांसद विष्टले यहाँबाट दार्जिलिङ प्रस्थान गरे। यस अवसरमा तिनीहरूसित दार्जिलिङका विधायक निरज जिम्बा, खरसाङका विधायक बीपी बजगाइँ लगायत भाजपा तथा गोरामुमोका केही शीर्ष नेताहरू पनि उपस्थित थिए। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *