युकेएफसी बन्यो सुकना गोल्डकप फुटबल च्याम्पियन

सिलगढी : रोमाञ्चक खिताबी भिड़न्तमा टाईब्रेकर मार्फत कञ्चनजङ्घा एफसी सिलगढ़ीलाई पराजित गरेर युकेएफसी खरसाङ पन्ध्रौँ सुकना गोल्डकप फुटबल टुर्नामेन्टको च्याम्पियन बन्यो। सुकना गेम्स् एन्ड स्पोर्ट्स एसोसिएसनको कुशल आयोजनामा सम्पन्न भएको यस फुटबल गोल्डकप प्रतियोगिता अन्तर्गत अति रोमाञ्चक फाइनल म्याचको टाइब्रेकरमा कञ्चनजङ्घा एफसीलाई 3-2 गोलले पराजित गरेर युकेएफसी च्याम्पियन बन्नको साथै सुकना गोल्डकप ट्रफीसहित नगद 2 लाख रूपियाँ पनि हत्यायो। हजारौंका संख्यामा मानिसहरू भेला भएको फाइनल म्याचमा निर्धारित समयसम्म दुवै टोलीका खेलाड़ीहरूले कुनै पनि गोल गर्न नसकेपछि अन्तमा खेलाइएको रोमाञ्चक टाईब्रेकरमा युकेएफसीले कञ्चनजङ्घा एफसीलाई पराजित गरेर खिताब आफ्नो नाममा दर्ता गऱ्यो। पन्ध्रौ सुकना गोल्डकप च्याम्पियन युकेएफसी खरसाङ टोलीलाई दुई लाख नगदसहित गोल्डकप ट्रफी प्रमुख अतिथि अनित थापाको बाहुलीबाट अनि उपविजेता टोली कञ्चनजङ्घा एफसीलाई नगद एक लाखसहित आकर्षक ट्रफी अन्य अतिथिको बाहुलीबाट प्रदान गरियो।


यसैगरी, विजयी टोलीका खेलाड़ी आशिष देवानलाई सर्वश्रेष्ठ साइट ब्याक, सर्वश्रेष्ठ गोलकिप्पर राजा वर्मन, प्रशान्त गुरूङलाई सबैभन्दा असल विङ्गरको रूपमा छनौट गरेर पारितोषिक प्रदान गरियो। अर्कोतिर, कञ्चनजङ्घा एफसीका खेलाड़ीहरू क्रमैले राम राई सर्वश्रेष्ठ डिफेन्डर, सुब्रतो सोरेन सर्वश्रेष्ठ मीड फील्डर, अरूण तामाङलाई सर्वश्रेष्ठ फरवर्डका रूपमा पुरस्कार प्रदान गरियो। यसवाहेक, फेयर प्ले ट्रफी आमुक्त परिवार अनि सर्वश्रेष्ठ उदयीमान खेलाड़ीका रूपमा बिक्की दर्जीलाई चयन गरियो। शिक्षक सागर छेत्रीले कुशल सञ्चालन गरेको फाइनल खेलमा आकांक्षा थापा, आशिया राई र ट्रिजा प्रधानले आ-आफ्ना सुमधुर स्वरमा गीतहरू प्रस्तुत गरिन् भने खेलको मध्यान्तरमा काव्याश्री छेत्रीले योगा प्रदर्शन गरेर सबैलाई आश्चर्य चकित पारिन्। सिलगढ़ीको चर्चित महाबर्ट हाई स्कूलका निर्देशक चार्ल्स महाबर्टको अध्यक्षतामा सम्पन्न फाइनल खेल समारोहमा प्रमुख अतिथिका रूपमा जीटीए चेयरम्यान अनित थापा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा भारतीय राष्ट्रीय टोलीका पूर्व चर्चित खेलाड़ी श्याम थापा, भाइचुङ भोटिया,गोपाल लामा, प्यारा सिंह, विनोद राई, टीटी शेर्पा, साम्देन लामा, राजेन गोले, सुमन लामा, खोकन भट्टाचार्य आदि उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *