योजनाबद्ध रूपमा 8 महिनाको गर्भवती स्वास्नीको हत्या गरेको आरोपमा लोग्नेसहित प्रेमिका पक्राउ

सिलगढी : योजनाबद्ध रूपमा 8 महिनाको गर्भवती स्वास्नीको हत्या गरेको आरोपमा पुलिसले लोग्ने अनि तिनको प्रेमिकालाई पक्राउ गरेपछि आज अलिपुरद्वार अदालतमा पेश गर्यो। प्राप्त जानकारीअनुसार गत 13 जनवरी राति अलिपुरद्वार जिल्लाको हाँसीमारा एसियन हाईवेमा मजिदा बेगमको रक्ताम्मे अवस्थामा देह उद्धार भएको थियो भने दुष्कृतिहरूले तिनी लगायत स्वास्नीमाथि हमला गरेको लोग्ने एक्रामूल हकले दावी गरेका थिए। तथापि, लोग्नेमाथि पुलिसलाई सन्देह लागेको थियो। लोग्ने एक्रामूल हकको हिजो नर्सिङहोमबाट छुट्टी भएपछि पुलिसले तिनीसित सोधखोज गर्दा घटनाको सत्यता अघि आयो। आरोपी लोग्नेले पुलिसलाई बताएअनुसार गत 13 जनवरी राति एक्रामूल स्वास्नी मजिदालाई लिएर जयगाउँबाट घर फर्किरहेको समय बीच बाटोमा तिनको प्रेमिका राहेला तिनीहरूको वाहनमा चढ्यो। केही पर पुगेपछि राहेलाले मजिदाको घाँटीको नली काटिदियो भने उक्त घटनालाई छिनताईको रूप दिनको लागि राहेलाले एक्रामूलको पिठ्युँमा पनि छुरीले प्रहार गर्यो। पुलिसले आरोपी राहेला सुल्तानालाई पक्राउ गरेको छ। यस सम्बन्धमा जिल्ला सुपर वाई रघुवंशीले बताएअनुसार उक्त घटना छिनताई तथा डकैतीको होइन। योजनाबद्ध रूपमा स्वास्नीको हत्या गरिएको हो। तर आरोपीहरूले यसलाई छिनताई तथा डकैतीको रूप दिने प्रयास गरेको तिनले बताए। अतिरिक्त पुलिस सुपर कुन्तल बन्दोपाध्य्याले बताएअनुसार आफूहरूलाई लोग्ने एक्रामूलमाथि पहिलेबाट सन्देह रहेकोले तिनी निको भएर नर्सिङहोमबाट छुट्टी पाउनसाथ घटनाबारे सोधखोज गरेपछि घटनाको सत्यता उजागार भएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *