युवा स्रष्टा बिनीता छेत्रीलाई रेडियो सलेशियन युवा सम्मान प्रदान

खरसाङ : रेडियो सलेशियन 90.8 मेगाहज सोनादाले प्रत्येक वर्ष प्रदान गर्दै आएको युवा सम्मान आज एउटा कार्यक्रमबीच युवा स्रष्टा बिनीता छेत्रीलाई प्रदान गरियो। सोनादा सलेशियन कलेजका प्राचार्य डा. जर्ज ब्राजीलको मुख्य आतिथ्यमा सम्पन्न कार्यक्रममा दार्जिलिङकी कवि एवम् कथाकार बिनीता छेत्रीलाई मुख्य अतिथि प्राचार्य डा. जर्ज ब्राजील र रेडियो सलेशियनको स्टेशन डाइरेक्टर फादर सीएम पलको बाहुलीबाट खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह अनि सम्वर्द्धना पत्रद्वारा सम्मान जनाइयो। एडलिन राणाले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण रेडियो सलेशियनका कार्यक्रम डाइरेक्टर आरजे समीर छेत्रीले राखेका थिए भने युवा स्रष्टा बिनीता छेत्रीको परिचय सागर राईले राखेका थिए। युवा सम्मान प्राप्त गरेपछि बिनिता छेत्रीले रेडियो सलेशियनप्रति आभार प्रकट गर्दै आगामी दिनमा युवा भाई बहिनीहरूलाई पनि साहित्य लेखन र अध्ययनमा प्रोत्साहन गर्न आवश्यक रहेको बताइन्। तिनले प्रत्येक घरमा सानो भए तापनि पुस्तकालय निर्माण गर्न सकिए राम्रो हुने बताउँदै मेरो साहित्य लेखन कहाँसम्म पुग्छ थाहा छैन तर मेरो लेखनको शुरूमा पाएको मञ्च यही रेडियो सलेशियन हो र रेडियो सलेशियनप्रति आभारी छु भनी बताइन्। कार्यक्रममा प्रमुख अतिथि प्राचार्य डा. जर्ज ब्राजीलले रेडियो सलेशियनले छोटो समयमा नै धेरै प्रसिद्धि कमाएको उल्लेख गर्दै रेडियोमार्फत् युवाहरूले सृजनात्मक कार्यहरू गरिरहेकोमा खुशी व्यक्त गरे। कार्यक्रममा रेडियो सलेशियनको आयोजनामा भएको क्युटेस्ट कपल प्रतियोगितामा पहिलो र दोस्रो हुने दुई जोड़ीलाई पनि सम्मान गरियो। कार्यक्रममा धन्यवाद ज्ञापन रेडियो सलेशियनको स्टेशन डाइरेक्टर फादर सीएम पलले राखेका थिए। कार्यक्रममा कथाकार सन्ध्या आचार्य, पहिलो रेडियो सलेशियन युवा सम्मानले सम्मानित हनोक थापा लगायत अन्यहरू पनि उपस्थित थिए। कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै रेडियो सलेशियनको कार्यक्रम डाइरेक्टर आरजे समीर छेत्रीले रेडियो सलेशियनले सन् 2019 देखि विभिन्न कला क्षेत्रमा सक्रिय भएर योगदान दिने 18 देखि 35 वर्षसम्मका युवाहरूलाई रेडियो सलेशियन युवा सम्मान् प्रदान गर्दै आएकोले आज दोस्रो रेडियो सलेशियन युवा सम्मान् कवि एवम् कथाकार बिनिता छेत्रीलाई प्रदान गरिएको बताए। तिनले पहिलो युवा सम्मान युवा कवि एवम् पत्रकार हनोक थापालाई प्रदान गरिएको र गत वर्ष 2020-मा भने कोभिडको कारणले प्रदान नगरिएको तर अब प्रत्येक वर्ष युवा सम्मान प्रदान गरिने बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *