युवतीसित दुष्कर्म गरेको आरोपमा ज्योतिष पक्राउ

सिलगढी : बाघडुग्रा थाना पुलिसले युवतीसित दुष्कर्म गरेको आरोपमा एकजना कविराज ज्योतिषलाई पक्राउ गरेको छ। पक्रा परेका व्यक्ति उत्तर दिनाजपुर जिल्ला अन्तर्गत पर्ने पाञ्जीपाड़ाको शान्तिनगर निवासी रहमत अली उर्फ मोहम्मद हसीन हुन् भने तिनी पेशाले कविराज ज्योतिष हुन्। प्राप्त जानकारीअनुसार कविराज ज्योतिष रहमत अलीले एउटी युवतीलाई नोकरी लगाइदिने लगायत सबै प्रकारको समस्याको समाधान गरिदिने बताउँदै युवतीबाट धेरै रुपियाँको माग गरेको बताइएको छ। यसपछि उक्त कविराज ज्योतिष रहमत अलीले युवतीलाई आफ्नो घर उत्तर दिनाजपुर जिल्ला अन्तर्गत पर्ने पाञ्जीपाड़ाको शान्तिनगर इलाकामा बोलाएर तिनलाई निद्रा लाग्ने औषधी खुवाएर दुष्कर्म गरेको युवतीको आरोप रहेको छ। गत 18 देखि 26 अप्रेलसम्म  रहमत अलीले तिनलाई निद्रा लाग्ने औषधि खुवाएर तिनीसित लगातार दुष्कर्म गरेको पीडित युवतीले बताइन्। यसको साथै रहमत अलीले युवतीको सुनको चेन, औँठी, कानको चोरी गरेको तिनले बताइन्। यसपछि उक्त युवतीले आफ्ना परिवारका सदस्यहरूलाई घटनाबारे जानकारी गराएपछि गत 9 मईको दिन परिवारका सदस्यहरूले घटनाबारे बाघडुग्रा थानामा लिखित अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले हिजो राति पान्जीपाड़ाबाट रहमत अलीलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *