सिलगढी, 10 मई: सामाजिक सञ्जाल र डेटिङ एपहरूमा आफूलाई को-पायलट अर्थात सह-पायलट भनेर चिनाउँदै लगभग 300 युवतीलाई झुक्याएर लाखौँ रुपियाँ ठगी गर्ने एकजना व्यक्तिलाई सिलगढी मेडिकल आउट पोस्ट पुलिसले पक्राउ गरेको छ। पक्रा परेका व्यक्तिको नाम हेमन्त शर्मा हो, उनी सिक्किमको पाकयोंगका वासिन्दा बताइएको छ।
पुलिस सूत्र अनुसार हेमन्त शर्माले आर्टिफिसियल इन्टेलिजेन्स, (एआई) को प्रयोग गरेर आफ्ना फोटोहरूलाई को-पायलटको पोशाकमा एडिट गर्थे र आफूलाई एयरलाइन्सको सह-पायलटको रूपमा प्रस्तुत गर्थे। यस नकली पहिचानमार्फत उनले डेटिङ एपहरू र इन्स्टाग्राममा युवतीहरूसँग सम्पर्क गर्थे र उनीहरूलाई फँसाएर आर्थिक ठगी गर्थे।
जाँचमा थाहा लागे अनुसार हेमन्त शर्मा पहिला बेंगलुरु विमानस्थलमा ग्राउन्ड स्टाफको रूपमा काम गर्थे। पछि उनले आफूलाई पायलट भन्न थाले। हालै उनले उत्तर बंगाल मेडिकल कलेजकी एकजना नर्ससँग झुटो सम्बन्ध बनाएर सून समेत ठगी गरेका थिए।
यो ठगीपछि पीडित नर्सले पुलिसमा अभियोग दर्ता गरेपछि जाँचमा जुटेको पुलिसले 6 मईमा हेमन्त शर्मालाई सिलगढीको शिव मन्दिर नजिक दुर्गा मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो। अदालतमा पेश गरेपछि उनलाई तीन दिनको पुलिस रिमाण्डमा राखेर सोधखोज गरिएको थियो। सोधखोज अवधि उनले नर्ससँग 4 ग्राम सुन ठगी गरेको कुरा स्वीकारेका थिए, जुन पुलिसले उद्धार गरेको छ।
पुलिसको जाँच पछि हेमन्त शर्माले हालसम्म एयर होस्टेसहरू लगायत अन्य 300 भन्दा अधिक युवतीसँग ठगी गरिसकेका छन्। आज तीन दिनको रिमाण्ड सकिएपछि उनलाई पुनः सिलगढी अदालतमा पेश गरिएको छ। पुलिसले हाल घटनाको विस्तृत जाँच गरिरहेको छ।